Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न आज चुनाव

पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न आज चुनाव

  • PNN Times
  • शुक्रवार, बैशाख २ २०७९


  • पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न आज चुनाव

    २ वैशाख। कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस गर्ने उम्मेदवार छान्न नेकपा एमालेले आज मतदान गर्दै छ ।

    एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान गर्न लागेको हो ।

    images
    अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।

    मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

    मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु हुन् । मीना गुरुङ, पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ ।

    यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी भने स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । सावित्री जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् ।

    त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।

    कास्कीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ छ । गुरुङ र अधिकारी पक्षले जिल्ला अधिवेशनमा छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । जिल्ला अध्यक्षमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरुङ विजयी भएका थिए ।

    देशका ६ वटा महानगरपालिकामध्ये पोखरामा एमालेको अवस्था राम्रो मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले जितेको थियो ।

     

    शुक्रवार, बैशाख २ २०७९०९:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend