बैशाख १७,चापाकोट । चुनावी प्रचारको क्रममा स्याङ्जाको चापाकोटमा झडप भएको छ ।चुनाव प्रचार गरी फर्केका नेकपा एमालेका कार्यकर्तामाथि नेपाली काँङ्ग्रेसका कार्यकर्ताले साँङ्घातिक आक्रमण गरेका छन् । नेपाली काँङ्ग्रेसका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट एकजना घाइते भएका छन ।नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबिच शनिबार राती नौ बजे चापाकोट ९ सुन्तलीटार बजारमा झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।
घाइते हुनेमा चापाकोट १० का २७ वर्षिय नारायण हिस्की मगर रहेका छन् ।उनी नेकपा एमालेका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय चापाकोटका अनुसार खुकुरी प्रहार गर्ने नेपाली काँङ्ग्रेसका कार्यकर्ता फरार रहेको छन् ।
नेकपा एमालेले चापाकोट नगरपालिका वडा नं ६ र ७ मा घरदैलो कार्यक्रम गरी फर्किने क्रममा चापाकोट ९ सुन्तलीटार बजारमा काँङ्ग्रेसका कार्यकर्तासङ्ग झडप हुन पुगेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायब उपरिक्षक खड्ग नारायण शाहले बताउनुभयो ।
घाइतेको टाउको र पेटमा खुकुरी प्रहार भएको छ । पेटमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइतेलाइ चापाकोट अस्पतालमा प्राथमिक उपचार गरी पोखरा रिफर गरिएको छ । झडपमा खुकुरी प्रहार गर्ने नेपाली काँङ्रेसका कार्यकर्ताहरुको खोजी भैरहेको प्रहरिले जनाएको छ ।