५ जेठ,वालिङ ।स्थानीय निर्वाचन सम्पन्न भएसँगै विहिबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान सहित सपथ खुवाइएको छ । वालिङमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान सहित सपथ खुवाइएको हो । वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्ण खाँणले जिल्ला न्यायाधिशबाट सपथ खाइसकेपछि उप प्रमुख कविता तिवारी गैह«ेसहित चौधै वडाका अध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाउनु भएको हो ।
सपथ खुवाउनु पहिले वालिङका निर्वाचन अधिकृत उदविर नेपालीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीप प्रताप खाँडले कानूनका आधारमा काम गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा नगरपालिकाले धेरै कानूनहरु बनाएको र त्यसैको आधारमा कार्य गर्न आग्रह गर्दै निवर्तमान प्रमुख खाँडले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
निवर्तमान खाँडले भन्नुभयो “ हामी कानूनभन्दा माथि कोहिपनि हुन सक्दैनौ, त्यसैले कानूनलाई सर्वोपरि ठानेर नगरका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्छ । हाम्रा चाहना धेरै हुनसक्छन् तर त्यसलाई कार्यान्वयन गर्न कानूनी आधारलाई अवलम्वन गर्नुपर्छ ।”
यसैगरी कार्यवाहक नगर प्रमुख समेत रहनुभएकी उप प्रमुख कल्पना तिवारीले नीति, विधि र पद्धतिका आधारमा नगरका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । आँफ्नो पाँचवर्षे कार्यकालमा पूर्वाधार विकासका आधारशिला बनेको भन्दै कार्यवाहक प्रमुख तिवारीले स्मार्ट नगरको वीस वर्षे कार्य योजनालाई अगाडि बढाएर स्मार्ट वालिङको सपना साकार पार्न आग्रह गर्नुभयो । १४ वडा रहेको वालिङमा वडा नं. १, २, ५, १०, ११ र १४ गरी ६ वडा अध्यक्ष नेपाली कांगे्रसका छन भने वडा नं. ३, ४, ६, ७, ८, ९, १२, र १३ गरी ८ व्डा अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका छन ।
यसैबीच जिल्लाका ११ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुले मातहतका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदानसहित सपथ ख्ुवाएका छन् ।