काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०७९/२०८० को बजेटमाथिको छलफल सांसदहरुको सक्रिय सहभागिता देखिएको छैन । २ सय ७५ जना मध्ये शुक्रबार एकै दिन ७९ जना सांसद बैठकमा सहभागी नभएको जानकारी संसद सचिवालयले दिएको छ ।
यसबाट विनियोजित विधेयकमाथि सांसदहरुको जिज्ञासा, सुझाव, छलफल र चासो कम देखिएको छ । जति कुरा उठाएपनि अर्थमन्त्रीले पेस गरेको बजेट वक्तव्यका प्रावधानहरु परिवर्तन नहुने परिपाटीका कारण पनि सांसदहरुले औपचारिकता मात्र पूरा गर्दै आएको दलका नेताहरु नै बताउँछन् ।
पूर्वसभामुख सुवाचन्द्र नेम्वाङ आफ्ना नेताले बोल्ने वा अरु कुनै विशेष कारण बाहेक बैठकमा सांसदहरुको संख्या कम हुनुलाई संसारभरकै चलन भएको बताउँछन् । धेरै सांसदको उपस्थिति उत्तम भएपनि बेलायतमासमेत त्यो सम्भव नभएको धारणा उनको छ । नेम्वाङ बजेटको छलफलमा विषयका ज्ञान भएका खासखास सांसदलाई बढी समय दिनुपर्ने भएकाले सवैले बोल्ने अवसर नपाउने बताउँछन् । उनले भने, ‘सरकार चलाउनेसँग बहुमत सांसद हुने मान्यताका आधारमा संसदीय व्यवस्था चल्ने गरेको छ । त्यसैले सरकारले ल्याएको प्रस्ताव पारित हुने गरेको हो ।’
एकातिर पार्टीहरु सबै सांसदले बोल्न समय नपुग्ने बताउँछन् । अर्कातर्फ भने सांसदहरुले आफ्नो पालोमा बोलेर अरुको कुरा नसुन्ने चलन स्थापित जस्तै भएको छ । त्यसैले कुनै दिन बैठकको सुरुमा सांसदहरुको उपस्थिति बाक्लै भएपनि अन्त्यसम्म प्रतिनिधिसभा हल खाली जस्तै हुने गरेको छ । उनीहरु हाजिर गरेर हिँड्ने गरेको सचिवालयका कर्मचारी बताउँछन् । कतिपय सांसदहरु पुस्तकालय, क्यान्टिन र लबीमा गफ गरेर घण्टौं बिताउने गरेका छन् ।
पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डे समय नपाएकाले नै सबै सांसदले बोल्ने अवसर नपाएको बताउँछन् । विषय विज्ञताका हिसावले पनि बोल्ने समय निर्धारण हुने गरेको भनाइ उनको रहेको छ । पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘बजेटमा जति जनाले बोलेका छन् त्यसलाई सकारात्मक मान्नुपर्छ ।’ प्रतिनिधिसभाका २ सय ७५ जना मध्ये अहिले सभामुख र मन्त्रीबाहेक २ सय ३४ जना सांसदले बैठकमा सहभागी भएर आफ्नो धारणा राख्न सक्छन् । तर बजेटमाथिको छलफलमा सुरु भएदेखिनै अरुची देखिएको सचिवालयका अधिकारीहरुले बताउने गरेका छन् ।