Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

  • PNN Times
  • बुधवार, भाद्र २२ २०७९


  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    कुश्मा : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधि सभा सदस्यका लागि पर्वतवाट सिफारीस भएका छन्। एमाले पर्वतको छैटौ बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार छनौट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारीस गरेको हो।  

    राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भएपनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिए। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना उम्मेदवारीका लागि इच्छुक नरहेको तर संसदमा खेलेको भूमिकाको सम्मानस्वरुप नाम राखेर पठाउनुपर्ने कुरा उठेपछि नाम राखेर पठाइएको हो। 

    images

    अध्यक्ष तिमिल्सिनासँगै एमालले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कल्पना चापागाई, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, संविधान सभा सदस्य तथा गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्सालको नाम सिफारिस गरेको छ। 

    प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा जिल्ला समन्वय समिति पर्वतका निवर्तमान प्रमुखसमेत रहेका मनोहर विश्वकर्मा पौडेलको नाम सिफारिस गरी पठाइएको छ। १ प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचनमा दुई वटा क्षेत्र रहेको पर्वतमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारको सङ्ख्या ३ जना मात्र हुन्छ। आकांक्षीहरूको सङ्ख्या सकेसम्म घटाउने प्रयासस्वरूप पार्टीभित्रको भेला र बैठकमा निकै कसरत गरेको भएपनि जिल्लाबाट ३७ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले पर्वतले जनाएको छ। एमालेभित्रका आकांक्षीहरूको नाम बाहिर ल्याउँदा इच्छुकहरूबीच नै तीतो मैलो उत्पन्न हुनसक्ने तथा अनावश्यक टीका टिप्पणी हुनसक्ने भन्दै इच्छुकहरूको नामावली सङ्कलन गरेको एमालेले जिल्लामा सार्वजनिक नगरी प्रदेशमा सिफारीस गरेको हो। 

    प्रदेशसभा निर्वाचन क्षेत्र १ को प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एमाले पर्वतका सचिव गोविन्द पहाडीसहित मेघनाथ सुवेदी, भक्तबहादुर कुँवर, प्रकाश लामिछाने, जुनादेवी नेपाली, शान्त पौडेल, यज्ञप्रसाद पौडेल, दाताराम चपाई, हरिओम शर्मा लामिछाने, प्रेम शर्मा पौडेल र विकास तिमिल्सिनाको नाम सिफारिश भएको छ।

    समानुपातिकतर्फ प्रेमकुमार लामिछाने, मुगाकुमारी शर्मा, दुर्गाप्रसाद शर्मा, महेन्द्रकुमार जोशी, सुजन बि.क, सूर्यप्रसाद शर्मा र जङ्गबहादुर पुनको नाम सिफारिस गरेको एमालेले जनाएको छ। प्रदेशसभा निर्वाचन क्षेत्र २ को प्रत्यक्ष उम्मेदवारका रूपमा मित्रलाल बस्याल, कमलप्रसाद भुसाल, सुन्दर भुसाल, बिन्दु अधिकारी र राजुप्रसाद पौडेलको नाम तथा समानुपातिकमा शारदाकुमारी शर्मा, कविता बि.क.,झबिकला काफ्ले, पुष्पराज पौडेल, एकबहादुर हमाल, केसकुमारी दमिनी, तुलाकान्त सुनार र अनिलप्रसाद मास्केको नाम सिफारिस गरिएको छ।

    जिल्ला कमिटीले नाम काँटछाँट गर्दा नेताहरूबीच मनमुटाव हुने सक्ने र त्यसैका कारण गठबन्धन भारी पर्नसक्ने आँकलन गरेको एमालेले आकांक्षी नेताहरूलाई रिसाउने कारण नदिनका लागि आकांक्षी सबैको नाम प्रदेश कमिटीमा आवश्यक रायसहित पेश गरेको हो। पठाइएका नामहरूलाई काँटछाँट गर्ने अधिकार प्रदेश कमिटीमा पनि रहेका कारण आवश्यक ठानेको अवस्थामा प्रदेशले पनि नाम काँटछाँट गरेर केन्द्रीय कमिटीमा सिफारिस गर्ने जिल्ला उपाध्यक्ष पदमपाणी शर्माले बताए। 

    बुधवार, भाद्र २२ २०७९११:१३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend