असोज १३, पर्वत । पर्वतको पैयूँमा दशै लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरिएको छ । पैयूँ गाउँपालिकाले चाडपर्व लक्षित गरि बजार अनुगमन शुरु गरेको हो ।
गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने स्थानिय बजार व्यवस्थापन समिति संयोजक एंव पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले जानकारी दिनु भयो ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै लगायत चाडपर्वको अवसरमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको उपाध्यक्ष रानाले बताउनु भयो ।
गाउँपालिकाले खासगरी पैयूँ भित्रका भोर्ले, सरौखोला, हुवास, हातेमालोचोक, त्रिवेणी डुड बजार लगायतका ठाउँमा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमना गरेको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनु भयो ।

बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि लामिछानेले स्पष्ट पार्नु भयो । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पहिलो दिन गरेको अनुगमनमा अधिकांश म्याद गुज्रेका सामाना बरमाद गरिएको छ भने गाउँपालिकामा दर्ता नभएका पसलहरुलाई १५ दिन भित्र दर्ता गर्न निर्देशन दिइएको छ ।