पर्वतको महाशिला गाउँपालिकाले आर्थिक अनुशासन र पारदर्शिताको क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। आर्थिक वर्ष एकासी बयासीको अन्तिम लेखापरीक्षणमा गाउँपालिकाले बेरुजु रकम शून्य कायम गर्दै वित्तीय सुशासनमा आफूलाई देशकै अग्रणी स्थानीय तहको रूपमा स्थापित गरेको हो।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ एकीकृत वार्षिक प्रतिवेदन अनुसार, महाशिला गाउँपालिकाको कुल ७१ करोड ४८ लाख ६६ हजार रुपैयाँ बराबरको आय तथा व्ययको लेखापरीक्षण गर्दा कुनै पनि बेरुजु नदेखिएको गाउँपालिकाले जनाएको छ। यससँगै महाशिला देशभरका ७५३ स्थानीय तहमध्ये बेरुजु शून्य कायम गर्ने उत्कृष्ट पालिकाहरूको सूचीमा पर्न सफल भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेका अनुसार, स्थानीय तहबाट सम्पादन हुने हरेक विकास निर्माण, खरिद प्रक्रिया र प्रशासनिक खर्चमा पूर्ण आर्थिक अनुशासन कायम गरिएकै कारण यो ऐतिहासिक उपलब्धि सम्भव भएको हो।
"आर्थिक वर्ष एकासी बयासीमा बेरुजु शून्य कायम हुनु केवल प्रशासनिक सफलता मात्र होइन, यो स्थानीय सरकारप्रति आम नागरिकको विश्वास र भरोसा बढ्ने महत्त्वपूर्ण कडी पनि हो।" उहाँले जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला पक्षहरूबीचको आपसी समन्वय, इमानदारिता र उत्तरदायित्वका कारण यो सफलता प्राप्त भएको स्पष्ट पार्नुभयो।
गाउँपालिकाले यस गौरवपूर्ण सफलतामा योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, नागरिक समाज तथा सरोकारवालाहरूमा धन्यवाद समेत ज्ञापन गरेको छ। साथै, आगामी वर्षहरूमा पनि वित्तीय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउँदै, थप सुशासन र प्रभावकारी सेवा प्रवाहका साथ अघि बढ्ने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।