पर्वतको महाशिला गाउँपालिकालाई एक विशेष समारोहका बीच 'पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका' घोषणा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम भएको हो।
गाउँपालिकाभित्रका निश्चित उमेर समूहका सम्पूर्ण बालबालिकाहरूले सरकारले निर्धारण गरेका सबै आवश्यक खोपहरू पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विकले स्वास्थ्य क्षेत्रमा महाशिलाले हासिल गरेको यो सफलता प्रशंसनीय रहेको र यसलाई दिगो राख्नु अबको मुख्य चुनौती रहेको औंल्याउनुभयो।
यस्तै, कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुसालले पालिकावासीको स्वास्थ्य सुरक्षाप्रति स्थानीय सरकार गम्भीर रहेको बताउँदै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले आगामी दिनमा पनि यो अवस्थालाई निरन्तरता दिँदै दिगोपनाका लागि पालिकाले आवश्यक बजेट र रणनीतिका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
समारोहमा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको छ।