Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दाङका सैघावासी भन्छन्– विकास गर्ने सर्तमा मात्रै भोट

दाङका सैघावासी भन्छन्– विकास गर्ने सर्तमा मात्रै भोट

  • PNN Times
  • शुक्रवार, कार्तिक ४ २०७९


  • कात्तिक ४, दाङ । चुनाव प्रचारका लागि दाङको सैघा र स्युजा पुगेका सत्ता गठबन्धनका उम्मेदवारहरुसँग स्थानीयले गाउँको विकास गर्ने सर्तमा मात्र भोट दिने बताएका छन् । अधिकांश मतदाताहरुले खानेपानी, सडक, विद्युत, सुविधा सम्पन्न स्वास्थ्यसंस्था र विद्यालयको माग गरे । केही स्थानीयले सिमेन्ट उद्योगको प्रदूषण हटाउनुपर्ने माग पनि राखे ।  
     
    आज (बिहीबार) दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा र प्रदेश सभा १ का लागि नेपाली कांग्रेसका उम्मेदवार राजु खनालसहितको टोली घरदैलो कार्यक्रमका लागि घोराही उपमहानगरपालिका–१९ मा पर्ने सैघा, स्युजा र तोष गाउँ पुगेका थिए । पार्टीका स्थानीय कार्यकर्ताहरुले माला लगाइदिएर उनीहरुलाई स्वागत गरेपछि स्थानीय र उम्मेदवारबीच कुराकानी सुरु भएको थियो ।
     
    सैघाका मोहन बुढाले घोराही उपमहानगरपालिका भित्रको वडा भए पनि विकासमा पछि परेको गुनासो गरे । एक गाग्रो पानी लिन दिनभर लाग्ने भन्दै उनले सहज तरिकाले खानेपानी आपूर्तिको व्यवस्था मिलाइदिन माग गरे ।
     
    साथै उनले घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपरहरुको ओभर लोडका कारण सडक जिर्ण बनेको भन्दै उनले सडक मर्मत सम्भार गरिदिन पनि माग गरे । ‘सिमेन्ट उद्योगका टिपरले शहीदमार्ग (घोराही–होलेरी सडक) छियाछिया बनाए । बर्खामा हिंड्न सास्ती भयो,’ बुढाले भने, ‘हाम्रा बालबच्चा स्कुल जान दिनहुँ एक/दुई घण्टा पैदल हिँड्नुपर्छ । यहाँको बाटो बनाइदिनुपर्यो ।’
     
    अर्का स्थानीय सहबीर पुनले नेताहरुले आश्वासन मात्र दिने गरेको भन्दै अब त विकास होला भनेर आशै लाग्न छाडेको बताए । ‘५/५ वर्षमा आउने उम्मेदवारसँग कति आश गर्नु,’ उनले भने, ‘अब त विश्वास पनि लाग्न छोड्यो ।’ अब अन्तिम पटकका लागि भोट हाल्ने बताउँदै उनले भने, ‘हामी तपाईंहरुलाई जिताएर पठाउँछौ तर गाउँको विकास गर्ने सर्तमा मात्रै ।’
     
    स्थानीयका गुनासा सुनेपछि प्रतिनिधि सभा उम्मेदवार रेखा शर्माले आफू सरकारमा रहँदा पनि र नरहँदा पनि गाउँको विकासको लागि पहल गर्दै आएको बताइन् । भविष्यमा पनि त्यसैगरी क्रियाशील हुने उनले बताइन् । प्रदेशसभा सदस्य उम्मेदवार राजु खनालले आगामी मंसिर ४ गते हुने चुनावमा आफूले जिते पनि/नजिते पनि दाङको विकासको लागि पहल गर्ने बताए ।
     
    सैघामा आयोजित एक कार्यक्रममा नेकपा एमाले घोराही नगर कमिटी सदस्य तुकमान घर्ती माओवादी केन्द्रमा प्रवेश गरेका थिए । घर्तीलाई माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी रेखा शर्माले पार्टी प्रवेश गराएकी हुन् ।

    शुक्रवार, कार्तिक ४ २०७९११:४३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend