कात्तिक १७, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले उत्पादनमा बृद्धि गर्न सातवटै वडामा माटो परिक्षण गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिकाको कृषि शाखा मार्फत वडा स्तरिय माटो परिक्षण एवं धान तथ्याङ्क गर्ने भएको हो । जसको लागि गाउँपालिकाले कात्तिक १७ गते देखि वडाहरुमा स्थलगत तालिमको आयोजना समेत गरेको छ ।
कात्तिक १७ गते वडा नम्बर २, १८ गते वडा नम्बर ५, २० गते वडा नम्बर ७, २१ गते वडा नम्बर १, २३ गते वडा नम्बर ४, २४ गते वडा नम्बर ३ र २५ गते वडा नम्बर ६ मा माटो परिक्षण, अभिमुखिकरण तालिम र धान तथ्याङ्क संकलन गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले जानकारी दिनु भयो ।
शर्माले माटो परीक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन वृद्धि गर्न राहत पुग्ने बताउनु भयो ।
आफ्नो खेतको माटो परीक्षणपछि कुन ठाउँमा कुन बालीको खेती गर्ने भन्ने विषयमा निश्चित हुने र विभिन्न जातको अन्नबाली, फलफूलका बिरुवा रोप्ने र तरकारीखेती गर्न किसानलाई सहज हुने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण राज मल्लले बताउनु भयो ।
उहाँले किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि गर्न माटो परीक्षण अभियान सुरु गरेको उल्लेख गर्नु भयो ।
