मंसिर ५, वालिङ ।
स्याङ्जा क्षेत्र नम्बर २ को चापाकोट नगरपालिकाका चारवटा बुथमा पुनः मतदानको मागसहित निर्वाचन आयोगमा निवेदन परेको छ । सत्ता गठबन्धनको नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भनी पुनः मतदानको माग गरिएको हो । ती केन्द्रहरुमा नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र तर्फका उम्मेदवार तथा प्रतिनिधिहरुले निर्वाचन आयोगमा निवेदन गरी माग गरेका हुन् ।
चापाकोटको वडा नम्वर ३ को दिसिङ्कोट आधारभूत विद्यालय कमेरे, ४ को राममन्दिर माध्यमिक विद्यालय दार्शिङ र दिन दयालु आधारभूत विद्यालय साठीमुरे, वडा नम्वर ५ को जनसक्रीय माध्यमिक विद्यालय चिदिपोखरीका मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको हो ।
सोमबार पत्रकार सम्मेलन गरी गठवन्धन बाहेकका उम्मेदवारले पुनः मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका तर्फका उम्मेदवार पद्मा कुमारी अर्यालले २१ औं शताव्दीमा आएर पनि बुथ कव्जा गरिनु लज्जास्पद भएको बताउनुभयो । अर्यालले अरु कसैको नाममा भोट हालिनु के वालिग मताधिकारको प्रयोग हो ? भनी प्रश्न गर्नुभयो । मिथ्या आरोपका साथै चरित्र हत्या हुनेखालका कुराले पनि नभएर बुथ कव्जा गरिनु लोकतन्त्रको उपहास भएको अर्यालको भनाई छ ।
यसैगरी नातावाद, कृपावाद, वेथिति रोक्नुपर्छ, धाँदली गरेर चुनाव जितेर जानेलाई हामी मान्दैनौ, भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेताले पुनः मतदान हुनुपर्ने बताउनुभयो ।
निवेदनमा बुथ कब्जा गरेर एकै व्यक्तिले धेरैको नाममा मतदान गरेको उल्लेख छ । यसैगरी ती बुथहरुमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ ।स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ प्रतिशत रहेको छ, तर कव्जा गरिएका बुथहरुमा ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा नदेखिएको निवेदनमा भनिएको छ ।
गठबन्धनको धाँधलीले प्रहरी प्रशासनलाई पनि निकम्मा बनाएको र जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकारबाट वञ्चित गराइएको निवेदनमा उल्लेख छ ।
ती मतदान केन्द्रहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनधिकृतरुपमा बुथ कव्जामा लिई अन्य मतदाताको नाममा मत खसालिएको निर्वाचन आयोगमा गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
निवेदन गर्नेहरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्माकुमारी अर्याल, टीकराज गुरुङ, सागर ढकाल र लालगोपाल अर्याल रहेका छन् । यसैगरी ऋषिसरा गाह मगर, ढालप्रसाद पाण्डे र समानुपातिक तर्फका हुमबहादुर गुरुङ, मेघबहादुर आले, झविलाल डुम्रे, मुक्तिप्रसाद पाठक तथा खर्कबहादुर थापा कमल डुम्रे र निर्मला थापाद्वारा हस्ताक्षर गरिएको छ । यस्तै प्रदेशसभा उम्मेदवार बुद्धिमान श्रेष्ठ, निर्वाचन प्रतिनिधि अनुपमा ढुङ्गानालगायतको संयुक्त हस्ताक्षरसहितको निवेदन आयोगमा परेको हो ।