मंसिर ११,वालिङ ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को मतदान भएको साता कटिसकेको छ । मतगणना सम्पन्न गरी धेरै जिल्लाका परिणामहरु घोषणा भैसकेका छन् । विवादमा परेका बाजुरा जिल्लालगायत स्थानमा पुनः मतदान गरी मतगणनाको कामसमेत अगाडि बढिसकेको छ । तर स्याङ्जा क्षेत्र नम्वर २ मा भने यतिका दिन बित्दासम्म पनि पुनः मतदान गराउने या गणना गर्ने भन्ने कुनै निर्णय हुन सकेको छैन ।
मतगणना रोकिनुको कारण बुझ्न निर्वाचन आयोगका कानुन सहसचिव फणिन्द्र गौतम नेतृत्वको टोली ९ गते शुक्रबार काठमाडौ फर्कियो । त्यही आधारमा अगाडि बढ्ने तय भएको क्षेत्र नम्वर २ वालिङका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभएको छ । तर आजसम्म पनि कुनै टुङ्गो नलगाएर आयोगले अनिर्णयको बन्दी बनाएको छ ।
चापाकोट नगरपालिकाका ४ वटा बुथ काङ्ग्रेसले नियन्त्रणमा लिई एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको मागसहित नेकपा एमालेले उजुरी हालेपछि मतगणना हुन नसकेको हो । चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु र चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै पुनः मतदानको मागसहित उजुरी गरेको एमालेले जनाएको छ । ती मतदान केन्द्रहरुमा मृत्यु भैसकेका तर मतादाता नामावलीमा नाम रहेका व्यक्ति र विदेशमा भएका व्यक्तिका नाममा समेत भोट खसालिएको एमालेको दावी छ । अरुका नाममा भोट खसालिनु र आफ्नो भोट आँफै खसाल्न नपाउनु लोकतन्त्र विरोधी गतिविधि भएको एमालेको भनाई छ ।
कांग्रेसले भने तत्काल मतगणना गर्न भनेको छ । विधिवत सम्पन्न भएको मतदानको मतपेटिका सिलबन्दी भई आइसकेकाले तुरुन्त मतगणना गरिनुपर्ने काङ्ग्रेसको माग छ ।
दुवै दलले कार्यालय नजिक सडकमा दैनिक चर्को आवाजमा गीत बजाउँने र नाराबाजीसहित धर्ना दिइरहेका छन् । क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय वालिङ नगरपालिकामा रहेको छ । जसका कारण नगरपालिकाका सम्पूर्ण कामहरु प्रभावित भएको र सेवाग्राही मर्कामा परेका छन् ।