काठमाडौँ - सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संहिताको ११६ दफामा एउटा उपदफा थपेर संशोधनका लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत अध्यादेशको उक्त संशोधित दफामा जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने उल्लेख छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद-१२ मा मुद्दा फिर्ता लिने, मिलापत्र र मेलमिलापसम्बन्धी व्यवस्था रहेको छ । त्यस्तै दफा ११६ र ११६ (क) मा मुद्दा फिर्ता लिन नहुने र मुद्दा फिर्ता हुनेसम्बन्धी प्रावधान राखिएको छ । सरकारले दफा ११६ मा एउटा उपदफा थपेर ९ पुर्याएको छ ।