पर्वत। पर्वतको पैयूँका युवाले सडक निर्माण गर्न आफ्नै घरमा डोजर चलाएका छन । पैयूँ गाउँपालिका वडा नम्बर ४ हातेमालोचोकमा घर भएका विनोद थापा र उनका भाइ निर्मल थापाले सडक निर्माण गर्ने क्रममा घर पर्ने भएपछि घर भत्काएर सडक निर्माण गर्न सहमति दिएका हुन ।
पैयूँको मुख्य बजार हातेमालो चोकको भित्री सडक बिस्तार गर्न पैयूँ गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको थियो ।
भित्री सडक बिस्तार गर्ने क्रममा बिचबाटोमा घर पर्ने भएपछि पैयूँ गाउँपालिका र घरधनियुवाहरु बिच सहमति भएपछि घर भत्काएर सडक निर्माण गर्न सुरु गरिएको छ ।

घर भत्काएर सडक बिस्तार गर्न दिएका युवाहरुलाई पैयूँ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । उहाँले पालिकाको योजनालाई साथ दिएर घर भत्काउन सहयोग गरी समाजमा राम्रो सन्देश दिएको भन्दै युवाहरुलाई धन्यवाद प्रकट गर्नु भएको छ ।
सबै नागरिकले आवश्यकता महसुस गरेको भित्री सडक बिस्तारमा हाम्रो घर परेको थियो घरधनी विनोद थापा भन्नुहुन्छ घर भत्काएर पछि सडक राम्रोसंग बन्ने भएपछि हामीले पनि सहमति दिएका हौ ।
समाजमा बसेपछि सामाजिक काममा बाधा पुर्याउन हुदैन भन्ने हाम्रो उद्देश्य हो त्यसैले आफुहरुले घर भत्काएर सडक निर्माण गर्न सहजीकरण गरेको थापाको भनाई छ ।

गाउँपालिकाले विनियोजन गरेको २५ लाख बजेटबाट पहिलो चरणमा ४ सय ५० मिटर नालि,मेसनरीवाल, कल्भट,ग्राबील लगायतको काम हुने उपभोक्ता समितिका अध्यक्ष उमेश आलेले जानकारी दिनुभयो ।
पैयूँको पुरानो मर्दिखोला बजार बर्षौ देखि सडक बिहिन अवस्थामा रहेको थियो अहिले सडक निर्माण हुने भएपछि खुशियाली छाएको पैयूँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टुकलाल न्यौपानेले बताउनु भयो ।