चैत्र १८, पर्वत । पर्वतको पैयूँमा डल तथा कुशन बनाउने तालिम सुरुवात भएको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ को आयोजनामा निशुल्क डल तथा कुशन तालिम सुरु भएको हो ।
तालिमको पैयूँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टुकलाल न्यौपानेले उद्घाटन गर्नु भएको छ। तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष न्यौपानेले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले यस किसिमका तालिमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनु भयो । गरिबी निवारणका लागि गृहिणी दिदीबहिनीहरुलाई उद्यमशील बनाउने उद्देश्यले वडाले राम्रो काम गरेको लामिछानेको भनाई छ ।
आगामी दिनमा महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर गराउने खालका अन्य तालिमहरु पनि वडाले संचालन गर्ने न्यौपानेको भनाई छ । ३२ जना दिदीबहिनीहरुको सहभागिता रहेको तालिम १५ दिन सम्म चल्ने छ ।