१४ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी दिएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम टोपबहादुर बुढा सहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
डिल्लीबजार कारागारका जेलर खड्गराज शर्माका अनुसार रेशमलाई आममाफी दिने राष्ट्रपतिको निर्णय गृह मन्त्रालयबाट कारागार व्यवस्थापन विभाग हुँदै पत्र आएपछि कार्यान्वयन हुनेछ । सम्भवतः भोलि १० बजे नै उनी छुट्ने छन् ।
रेशमको परिवारमा भने खुसी छाइसकेको छ । ‘हामीले त अदालतबाटै न्याय होस् भन्ने चाहेका थियौं’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले खुसीभावमा अनलाइनखबरसँग भनिन्, ‘आज उहाँलाई कारागारबाट बाहिर ल्याउन सफल भएका छौं ।’
अधिकारको आन्दोलनले जेल
विद्यार्थी जीवनकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सदस्य समेत भएका रेशम गीत संगीतमा लागेपछि सक्रिय राजनीतिबाट लगभग अलग भएका थिए ।
राजनीतिबाट अलग भएपछि उनी मार्सल आर्ट प्रशिक्षक भए, रेडियो कार्यक्रम चलाउन थाले । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि प्रधानमन्त्रीका लागि निवेदन माग गर्दा रेशमले पनि निवेदन दिएर चर्चामा आए । २०६२/६३ को आन्दोलन सफल भएपछि रेशम कैलालीको टीकापुर फर्किए ।
टीकापुरमा फूलबारी एफएम चलाउन थाले, टीकापुर महोत्सव गर्न थाले । महोत्सवमा प्रमुख दलका नेताहरुलाई प्रमुख अतिथि बनाएर लैजाने गरेका उनले नेता बन्ने चाह लुकाएका थिएनन् ।
दोस्रो संविधानसभामा प्रदेशहरुको संख्या र सीमाबारे बहस चर्किरहेका बेला देशका विभिन्न भागमा आन्दोलन उठ्यो । सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नारा लाग्यो । रेशम बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा लागे ।
त्यसक्रममा ७ भदौ २०७२ मा टीकापुरमा हिंसात्मक घटना भयो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले आफूसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि रेशम फरार भए । भूमिगत रहेकै अवस्थामा कहिले जंगल त कहिले खेतबारीमा भिडियो रेकर्ड गराएर आफू निर्दोष भएको सन्देश प्रवाह गरिरहे । २०७३ असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला रेशम एक रात्रिभोजमा उनलाई भेट्न सफल समेत भए ।
२०७४ मंसिरमा आमचुनाव भयो, रेशमले भूमिगत स्थितिमै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए । अनि, वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई २१ हजारको फराकिलो अन्तरले हराउँदै सांसद चुनिए । वारेफमार्फत उम्मेदवारी दिएर चुनाव त जिते, सांसद निर्वाचित भएको प्रमाणपत्र बुझ्न आफैं आउनुपर्ने भयो ।
त्यसरी आउँदा पक्राउ पर्ने पक्का थियो, त्यसले वारेसमार्फत प्रमाणपत्र बुझ्न पाउनुपर्ने माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दिए । सर्वाेच्चले आफ्ना माग अस्वीकार गरेपछि रेशमले १५ फागुन २०७४ मा आफूविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे ।