जेष्ठ २२,वालिङ
माध्यमिक तहसम्म निःशुल्क भएपनि उच्च शिक्षाका लागि भने हुनसकेको छैन । तर स्याङ्जा वालिङको एक क्याम्पस निःशुल्क शिक्षामा आगाडि बढेको छ । वालिङ नगरपालिका वडा नम्वर ७ केवरेस्थित बालसिद्ध क्याम्पस निःशुल्क शिक्षामा अगाडि बढेको हो । बालसिद्ध क्याम्पसले विगत १३ वर्षदेखि स्नातक तह बिना शुल्क सञ्चालन गर्दै आएको छ ।
झण्डै सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेको बालसिद्धमा शिक्षा संकाय अन्तर्गत नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र र जनसङ्ख्या विषयको पढाई हुन्छ । २०६५ सालदेखि सञ्चालनमा ल्याइएको बालसिद्धमा सुरुका २ वर्ष केही शुल्क लिइएको थियो । उच्च शिक्षा पनि निःशुल्क प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताले विना शुल्क अगाडि बढाइएको क्याम्पस प्रमुख ताराप्रसाद रेग्मीले बताउनुभयो ।
सबैभन्दा ठूलो कुरो शिक्षा रहेछ, शिक्षाले नै मानिसलाई सक्षम बनाउदो रहेछ । सक्षम नागरिकले आफ्नो जिविकोपार्जनलाई सक्षम बनाउदो रहेछ भन्ने आधारलाई मनन गरेर क्याम्पस सञ्चालनको सोंच बनाएको क्याम्पस प्रमुख रेग्मीले बताउनुभयो ।
विशेषगरी आर्थिक अवस्था कम्जोेर भएका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्न सकियोस भन्ने हेतुले क्याम्पस सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख रेग्मिले उल्लेख गर्नुभयो ।
सबैले उच्च शिक्षा हाँसिल गर्न आवस्यक छ र मात्रै देशले खोजेको समृद्धिको ढोका खुल्छ । यसका लागि स्थानीय स्तरमै सहज र गुणस्तरीय शिक्षा आजको आवस्यकता हो भन्ने आँफुहरुको मान्यता रहेको रेग्मीको भनाई छ ।
अन्य स्थानमा के छ, सुन्नमा आएको छैन, चुनौतिका बावजुद पनि विना शुल्क क्याम्पस सञ्चालन गरिएको छ । इच्छाशक्ति हुने हो भने सम्भव छ भन्ने आँफूहरुको अभ्यासले देखाएको उहाँको भनाई छ ।क्याम्पस प्रमुख रेग्मी भन्नुहुन्छ, “यहाँ झण्डै सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । रजिष्ट्रेसन र परीक्षा शुल्कबाहेक विद्यार्थीहरुसँग अन्य कुनै पनि शुल्क लिइदैन । यसमध्ये पनि आर्थिक अवस्था कमजोर भएका २० जना विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलव्ध गराइन्छ ।” त्रिभुवन विश्वविद्यालय अनुदान आयोगद्वारा मूल्याङ्कनका आधारमा वार्षिकरुपमा अनुदान प्रदान गर्दै आएको हामी सबैलाई थाह छ । यही अनुदानबाट शिक्षकहरुको पारिश्रमिकको व्यवस्थापन गर्दै आइएको रेग्मीले जानकारी दिनुभयो ।
यहाँ आउने विद्यार्थीहरु अत्यन्त गरिव छन्, दलित र सिमान्तकृत तथा न्युनवर्गका छन् । त्यसमा पनि छोरी बुहारीहरुको संख्या धेरै छ । उनिहरुलाई घरको कामकाज व्यवस्थापन गरेर शिक्षा हाँसिल गर्न आउनु आँफैमा चुनौतिपूर्ण छ । अन्यथा उच्च शिक्षा लिनुपर्छ भन्नेकुरा भने समाजले बुझ्न थालेको आँफूले पाएको रेग्मीको भनाई छ ।
वडा नम्वर ७ र वरपरका विद्यार्थीहरु शिक्षा संकायको अध्ययनका लागि केही बाहिर जाने क्रम पनि छँदै छ । स्थानीय स्तरमै उपलव्ध निःशुल्क, सहज र गुणस्तरीय शिक्षणलाई विद्यार्थी र अभिभावकहरुले अझ पनि प्राथमिता दिन नसकेको हो कि भन्ने उहाँको बुझाई छ । बालसिद्धमा जे जतिले अध्ययन गर्दै आए राम्रै भैरहेको छ । योसँगै अझ धेरैलाई स्नातक तहको अध्ययन गराउने चाहना छ रेग्मीले भन्नुभयो । क्याम्पसले यातायातको सुविधाका लागि बसकोसमेत व्यवस्था गरेको छ । स्थानीय स्तरमा प्राप्त सुलभ र गुणस्तरीय शिक्षाको अवसरलाई उपयोग गरी लाभान्वित हुन उहाँको आग्रह छ ।
पछिल्लो समय माध्यमिक शिक्षापछि धेरैजसो किशोर किशोरीहरु आय आर्जनसहितका अन्य अवसरको खोजीमा लाग्ने गर्दछन् । यसको एउटा कारण गरिवी हो भने शिक्षालाई महत्व दिन नसक्नु अर्को कारण हुनसक्छ । यसका साथै स्नातक तहको ४ वर्षे अवधि लामो हुने गरेको प्राचार्य रेग्मीको बुझाई छ । योसँगै नागरिकहरुको आर्थिक तथा पारिवारिक अवस्था पनि जोडिएको हुन्छ ।
सम्बन्धित निकायले अवधि घटाउने हो भने अध्ययन गर्नेहरुमा वृद्धि हुनसक्ने उहाँको धारणा छ । अतः लामो अवधि कुरेर शिक्षा लिन उनीहरुलाई गाह्रो बनाएको आँफूले महसुस गरेको उहाँको भनाई छ ।