वैशाख ५, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा यही वैशाख १० गतेदेखि नियमित पठनपाठन सुरु हुने भएको छ । गाउँकार्यपालिकाले ४ गते शुक्रबार वैठक बसी गाउँपालिका भित्रका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन १० गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
यस अघि नयाँ शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गर्ने र २१ देखि पठनपाठन सञ्चालन गर्ने भनिएको थियो । हाल भैरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर न्युनिकरण गर्न नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पठनपाठनलाई केही समय पछाडि लगिएको थियो । बिरुवा गाउँपालिका भौगोलिक हिसावले दुर्गम रहेकाले अधिकांश शिक्षक, कर्मचारी र विद्यार्थीहरु पैदल यात्रा मार्फत विद्यालय आवतजावत गर्दछन् । यसैले पेट्रोलियम पदार्थको खपतमा तात्विक असर पर्ने नदेखिएकाले गाउँ कार्यपालिकाको वैठक बसी ७ देखि ९ गतेसम्म नयाँ भर्ना अभियान सञ्चालन गर्ने र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको एक सूचना मार्फत गाउँ कार्यपालिकाले जानकारी गराएको छ ।