असार १४, पाल्पा । पाल्पाको रामपुर ३ बोटेगाउँमा पँधेराबाट पानी बोकेर खानुपर्ने समस्या हटेको छ । गाउँमा धारा पुगेसँगै वषौंदेखि पधेराबाट पानी बोकेर खानुपर्ने समस्या हटेको हो । ५७ घरधुरी रहेको गण्डकीढिक बोटेगाउँवासीले करिव १ घण्टाको बाटो हिडेर पानी बोकेर खान वाध्य थिए ।
११ लाख ७६ हजार ८ सयको लागतमा रामपुर नगरपालिकाले खानेपानीको व्यवस्थापन गरेको हो । नगरपालिकाको १० लाख र जनसहभागिताबाट १ लाख ७६ हजार ८ गरी ११ लाख ७६ हजार ८ सयको लागतमा खानेपानीको योजना सम्पन्न गरिएको हो । गाउँमा अहिले १० वटा धारा मार्फत पानीको व्यवस्थापन गरिएको छ ।
आयोजना अन्तर्गत निस्दी खोला किनारमा ५ हजार लिटर बराबरको रिजर्व टंकीबाट २७ हजार लिटर क्षमताको टंकीमा लिफ्टिङ गरी गाँउमा खानेपानी वितरण गरिएको छ ।
खानेपानी आयोजनाको उद्घाटन गर्दै नगर प्रमुख रमणबहादुर थापाले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । जनताको आधारभूत आवश्यकता अन्तर्गत खानेपानी पनि एउटा हो, त्यसैले खानेपानीलाई केन्द्रमा राखेर नगरको योजना सञ्चालन गरिएको उल्लेख गर्नुभयो । खानेपानीसँगै विद्युत, स्वास्थ्य र शिक्षा नगरबासीको अपरिहार्य भएको भन्दै उहाँले यस्ता आवस्यकता परिपूर्तिका लागि प्रतिबद्ध रहेको जनाउनुभयो ।
उहाँले नगरपालिकाले एक घर एक धाराको अभियानलाई अगाडि सारेको र यसका लागि आवश्यक बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो । अहिले बोटेगाँउमा १० वटा मात्रै धारा निर्माण भए पनि सवै घरमा धारा निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । साथै उहाँले खानेपानीको आवश्यकता पुरा गर्नका लागि स्थानीयले देखाएको लगनशिलता र मेहेनतको प्रशंसा समेत गर्नुभयो ।