वैशाख ७, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सेवा दिन थालेपछि सेवाग्राहीहरुले राहत महसुस गरेका छन् ।
बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ । पालिकाले नगरभित्र रहेका विभिन्न बैंकसँगको सहकार्यमा त्रैमासिक रुपमा भत्ता वितरण सेवा दिदै आइरहेको छ । नगरपालिकाले वडा नं. १,२,९ र १० गरी ४ वटा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हो ।
वडा नं.९ ले नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेड रामपुर शाखाको सहकार्यमा सामाजिक सुरक्षा वितरण गरेको हो । यो वडामा १ सय ८२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । १९ लाख ५० हजार रुपैयाँ वितरण गरेको बैंक रामपुर शाखाका प्रमुख बाबुराम कंडेलले जानकारी दिएका छन् । नगरपालिकासँग समन्वय गरेर बैंकले सेवा प्रदान गर्दै आएको उनको भनाई छ । नगरपालिकाले वडाबाटै भत्ता वितरण सेवा प्रदान गरेपछि लाभग्राहीहरु खुसी भएका छन् । आफ्नो सामाजिक सुरक्षा भत्ता लिनकै लागि बेझाँड बजार पुग्नु पर्दा १ हजार भन्दा बढि खर्च हुने गथ्र्यो । अहिले त्यो बाध्यता हट्दा खुसी लागेको यहाँका थान बहादुर पाटा मगर बताउँछन् । गाडीमा आउजाउ गर्ने झन्जट नहुने र खर्च पनि बचत हुने भएपछि धेरै सजिलो र राहतको महसुस भएको उनको भनाई छ ।
यस्तै ९ नम्वर वडाकै भिमिसरा नेपाली भन्छिन्–अहिले एक पैसा पनि खर्च नगरी आफ्नो सामाजिक सुरक्षा भत्ता लिन पाउँदा राहत भएको छ । अहिले घरकै खाना खाएर नजिकैबाट भत्ता बुझ्न पाउँदा गाडी भाडा र खाजा खर्च सँगै समयको पनि बचत भएको उनको भनाई छ ।
सेवा सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा ९ नम्वर वडा अध्यक्ष डिल बहादुर रानाले बताए । बैंकसम्म आउन जानका लागि बृद्धवृद्धा र असक्त नागरिकलाई समस्या हुने र उक्त समस्यालाई मध्येनजर गरेर वडाबाटै भत्ता वितरण कार्य गर्दै आएको अध्यक्ष रानाको भनाई छ ।
यसैबीच सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेशन शिविर समेत सञ्चालन गरिएको छ । ९ नम्वर वडा कार्यालय परिसरमा भएको शिविरमा १ सय ४१ जनाको बायोमेट्रिक भेरिफिकेशन गरिएको नगरपालिकाको पञ्जिकरण शाखाले जनाएको छ । शिविरमा १ सय ३२ जना जेष्ठ नागरिक, ६ जना एकल महिला र ३ जना अति अशक्त नागरिकको बायोमेट्रिक भेरिफिकेशन गरिएको हो ।