साउन २८, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले घरघरघमै पुगेर व्यवसायीको व्यवसाय दर्ता तथा नवीकरण गरिदिने भएको छ । गाउँपालिकाले दर्ता तथा नविकरणको लागी मोबाईल सर्भिस सेवा संचालन गरेर नागरिकलाई सहजता प्रदान गर्ने भएको हो । यही साउन २९ देखि ३१ गतेसम्म ३ दिन गाउँपालिका भित्र संचालनमा रहेका व्यवसायीक फर्महरुको दर्ता तथा नविकरण गरिने गाउँ पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनु भयो ।
पालिकामा दर्ता हुँन बाँकी साथै दर्ता भएर नियमित नविकरण नभएका व्यापार, व्यवसाय, पेशा वा अन्य व्यवसायिक कारोबार गर्ने व्यक्ति फर्महरुको लागी दर्ता नविकरणमा सहजता प्रदान गर्नका लागी उद्योग वाणिज्य संघ पर्वत हुवास उपसाखाको समन्वयमा पालिकाले व्यवसाय संचालन भएको स्थानमै जनप्रतिनिधि र कर्मचारी खटाएर सेवा दिने स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक यामकुमारी रानाले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार नै यो दर्ता शिविरको आयोजना गरिएको भन्दै यसले नागरिकलाई खर्च र समयको बचत हुने उहाँले बताउनुभयो । दर्ता तथा नविकरणको लागी नागरिकताको प्रमाणपत्र, दर्ता भएका व्यवसायहरुको दर्ताको प्रमाणपत्र, २ प्रति फोटो, घरभाडामा भएर सम्झौताको पत्र, नविकरणको हकमा दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।
