तोलाकान्त बगाले ।
असोज २१, वालिङ । स्याङ्जाको वालिङ १४ हुल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालयले विद्यार्थीहरुलाई मन्दिरमा पढाउँदै आएको छ । पहिरोले भवन भत्किएकाले विद्यालयले मन्दिरमा पढाउँदै आएको हो । २२ वर्ष पहिले स्थापना भएको उक्त विद्यालयको भवन माथिबाट आएको पहिरोले बगाएर लैजाँदा हाल बालसिकाई (शिशु) देखि पाँच कक्षासम्मका विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावित भएको विद्यालयले जनाएको छ ।
गत साउन र भदौमा आएको पहिरोले विद्यालयको प्रवेशद्वारदेखि विद्यालय भवनको जगै नरहने गरी लगेकाले पठन पाठनका लागि समस्या भएको हो । अहिले विद्यालयको नजिकै रहेको मन्दिरमा पठन पाठन गराइएको र भवन निर्माणका लागि जग्गाको खोजी कार्य भईरहेको विद्यालयले उल्लेख गरेको छ ।
गाउँको मध्यभागमा रहेको उक्त विद्यालयको भवन भत्किएपछि पठन पाठनमा समस्या भएकोले तत्काल विद्यालय भवन निर्माण गरी कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बतानुभयो । भवन पहिरोले लगेर छाँगो बन्न पुगेकाले अहिलेकै स्थानमा बनाउन हुने अवस्था नदेखिएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने नगर प्रमुख खाँडको भनाइ छ ।
स्थानीयहरुलाई जग्गाको खोजी गरी उपलब्ध गराउन अनुरोध गर्दै नगर प्रमुख खाँणले जग्गा प्राप्ति भईसकेपछि भवन निर्माण कार्यलाई अगाडि बढाउँने उल्लेख गर्नुभयो ।