पुस २८ वालिङ
स्याङ्जाको वालिङ नगरपालिकाको संशोधित शिक्षा ऐन पारित भएको छ । नगरपालिकाको शनिबार बसेको पन्ध्रौं नगरसभाले शिक्षा ऐन २०७४ को दफा १३ क, दफा १३ घ र दफा १३. २ मा संशोधन ऐन सर्वसम्मत पारित गरेको हो । संशोधित ऐन अनुसार विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधीहरु मध्येबाट व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् ।
यस अन्तर्गत माध्यमिक तहमा वडा अध्यक्ष र आधारभूत विद्यालयमा वडा कार्य समितिले तोकेको जन प्रतिनिधी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने छ । तर कावु बाहिरको परिस्थिति उत्पन्न भई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद रिक्त हुन आएमा नगर प्रमुखको परामर्शमा सम्बन्धित वडा कार्यसमितिले तोकेको जनप्रतिनिधी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने छ ।
माध्यमिक तह वा माथिल्लो तहका लागि विद्यालय व्यवस्थापन समितिमा रहन एसएलसी वा सो सरहको योग्यता हुनुपर्नेछ । तर निर्वाचित स्थानीय जनप्रतिनिधको हकमा संशोधित ऐन अनुसार यो दफा लागु हुनेछैन भनिएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र जनप्रतिधिीलाई जवाफदेही बनाउनका लागि नगरपालिकाले मौजुदा शिक्षा ऐनलाई संशोधन गर्नुपर्ने कारणमा उल्लेख छ । यसैगरी विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा हुने अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्नलगायतका कारणले ऐन संशोधन गरिएको जनाइएको छ ।