अछाममा बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिहीबार जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित रहेको सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीमा कोराना पुष्टि भएको हो ।
बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको चौरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर थापाले बताए । उनले भने ‘ती संक्रमित पुरुष चौरपाटी गाउँपालिका–५ लुंग्राका हुन् ।’
असार १९ गते पिसिआर जाँचका लागि ती पुरुषको स्वाब धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । ती कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले बैंक क्षेत्र सील गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए ।