Logo

शनिवार, कार्तिक १ गते २०८३

images

इन्ड्राइभ र अफलाइन राइडर ट्राफिक प्रहरीको निशानामा

इन्ड्राइभ र अफलाइन राइडर ट्राफिक प्रहरीको निशानामा

  • PNN Times
  • आइतवार, बैशाख ९ २०८१


  • ९ वैशाख, काठमाडौं । गत २२ चैतको बेलुका बौद्धको नयाँबस्तीस्थित पहेँलो पुलमा इन्ड्राइभ एपमार्फत राइड सेयरिङ गर्दै आएका १० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले जनही दुई हजार रुपैयाँ जरिवाना गर्‍यो ।

    मोटरसाइकल चालकले ग्राहकसँग मोलमोलाइ गरेर अफलाइनमा राइड सेयरिङ गरेको पाएमा ट्राफिकले कारबाही गर्ने गरेको थियो । इनड्राइभका राइडरले आफूहरुले अफलाइन नचलाएको भन्दै ट्राफिकसँग अनुनय गरे पनि प्रहरीले दुई हजारको चिट थमायो ।

    images

    जरिवानामा परेकामध्ये रोशन खड्काले अनलाइनखबरसँग भने, ‘नेपालमै केही गरिखाउँ भनेर काम गर्दा बिना गल्ती २ हजारको चिट थमाइदिएको छ । गरिखाने वातावरण भएन ।’

    ट्राफिक प्रहरीले भने इनड्राइभ नेपालमा दर्ता नभएकाले यसमार्फत राइड सेयरिङ गर्ने मोटरसाइकल चालकलाई कारबाही गर्न थालेको बताएको छ ।

    ‘नाम नै तोकेर फलानो राइड सेयरिङ भनेर कारबाही भएको छैन । तर बिना दर्ता चलेका राइड सेयरिङहरुलाई हामीले कारबाहीको दायरामा ल्याएका छौं’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जीवन श्रेष्ठले भने ।

    नेपालमा हाल पठाओ र इन्ड्राइभ गरी दुईवटा राइड सेयर एप सञ्चालनमा छ । पठाओ नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ भने इनड्राइभ कतै दर्ता भएको छैन । मोटरसाइकल चालक र ग्राहकले मोवाइलमा राखेको एपका आधारमा सम्पर्क भई राइड सेयरिङ हुँदै आएको छ । नेपालमा दर्ता नभएकाले इनड्राइभ एपमार्फत राइड सेयरिङ गर्ने मोटरसाइकल चालकहरु कारबाहीमा पर्ने प्रहरीको भनाइ छ ।

    कतै दर्ता नभएको र यात्रुको बीमा पनि नभएको राइड सेयरिङ एपमार्फत यात्रु ओसारपसार गर्न दिँदा दुर्घटना भएमा भविष्यमा समस्या आउने र यात्रु असुरक्षित हुने एसएसपी श्रेष्ठले बताए । यस्ता राइडरलाई ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको आरोपमा २ हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

    गत १४ चैतमा यात्रुको तीन वटा औला भाँचेको आरोपमा प्रहरी वृत्त सिंहदरबारले ५ वैशाखमा एक जना इन्ड्राइभका राइडरलाई पक्राउ गरेर मुद्दा नै चलाएको छ ।

    इनड्राइभर चढेर थापाथली जाने क्रममा गलत बाटो लगेको विषयमा यात्रु केशव घिमिरे र इनड्राइभर चालक नवलपरासीको विहादी गाउँपालिका–२ का २६ वर्षीय जोन तामाङबीच विवाद भएको थियो । सो क्रममा यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीले खबर गर्छु भनेपछि विवाद हुँदा इनड्राइभर चालकले चाबी खोस्न खोज्दा यात्रुको तीन वटा औंला भाँचिएको थियो ।

    दर्ता नभएका राइड सेयरिङ एप चलाउने र अफलाइनमा यात्रु बोक्ने मोटरसाइकल चालकका कारण दुर्घटना र अपराध बढ्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

    ‘अफलाइन चढेको छ । मोटरसाइकल नम्बर पनि थाहा छैन । कम्पनी कतै दर्ता पनि छैन । यस्तो अवस्थामा अपराध भए वा कुनै दुर्घटना भए पत्ता लगाउन गाह्रो हुन्छ’, उनले भने, ‘सीसीक्यामेराको माध्यमबाट धन्न हामीले व्यक्ति पहिचान गरी पक्राउ गरेर कारबाहीको दायरामा ल्याएका छौं ।’

    घटनाको २० दिनपछि बल्ल पक्राउ गरेका इनड्राइभर चालकमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै प्रकृतिका अपराधका घटनाहरु हुन नदिन पनि नेपालको कानुन अनुसार दर्ता नभएका राइड सेयरिङ एप र अफलाइन राइडरलाई प्रहरीले कारबाही गर्ने गरेको हो ।

    आइतवार, बैशाख ९ २०८१०७:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend