Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा पहिरोमा परेर २ जना बेपत्ता

पर्वतमा पहिरोमा परेर २ जना बेपत्ता

  • PNN Times
  • शनिवार, आषाढ २३ २०८१


  • पर्वत : गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्।

    कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेका छन्। उनीहरू बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका कारण उद्धारका लागि घटनास्थलमा जान नसकिएको उनले बताए।

    images

    उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरेमा थप मानवीय क्षति हुने अवस्था रहेकोले तत्कालका लागि उद्धारकर्ताहरूको सुरक्षालाई ध्यानमा राखिएको वडाध्यक्ष पाध्याले बताए।

    पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

    शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको पनि वडाध्यक्ष पाध्याले जानकारी दिएका छन्।

    शनिवार, आषाढ २३ २०८१०६:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend