पुस ८, वालिङ ।
नेपाल सरकारका पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले युवाहरुलाई कच्चा उमेरमा विदेश पठाउन नहुने बताउनु भएको छ । अहिले १२ कक्षा पढेपछि युवाहरुमा विदेश जाने सोंचको विकास भएको र यो हुन नहुने भन्दै पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठले विद्यालयहरु प्राविधिक शिक्षा मार्फत कर्मयोगी बनाउनुपर्ने बताउनुभयो । आज सोमबार स्याङ्जाको वालिङ १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यायलयको ६२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस कार्यक्रममा सम्वोधन गर्दै पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठले यो विद्यालयको प्रसस्त जमिन भएको र यसको उपयोग गरेर प्राविधिक शिक्षामा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ पूर्णामृत भवानी माविको प्रसस्त जमिन छ, त्यसको उपयोग गर्न आवश्यक छ । विद्यालयले भएको जमिन भाडामा दिनुभन्दा प्राविधिक शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई कर्मयोगी बनाउनुपर्छ । हामीले प्राँविधिक शिक्षा खोल्न सकिन्छ, जसले विद्यार्थीलाई दक्ष बनाउछ ।”
करिव डेढ सय रोपनी जमिन भएको र भौतिक पूर्वाधार पनि राम्रो रहेको विद्यालयले समस्या देखाउँदा चिन्ता लागेको भन्दै उहाँले ६ सय विद्यार्थी कमि भयो, विद्यार्थी वृद्धिमा लाग्नुपर्ने बताउनुभयो । यसको लागि प्रविधिसहितको गुणस्तरीय शिक्षामा जोड दिन उहाँको आग्रह छ । यो क्षेत्रको विकासमा आँफू पहिलादेखि नै लागिपरेको उल्लेख गर्दै पूर्व उप प्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठले यो विद्यालयको वृत्ति विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आँफू शिक्षामन्त्री हुँदा जिल्लामा ६ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा अगाडि बढाईएको भन्दै धेरै विद्धानहरु उत्पादन गरेको विद्यालयको थप शैक्षिक तथा भौतिक विकासका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति तथा भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा खेल र विज्ञान प्रदर्शनी गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु, विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति एवम् उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
