Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राप्रपा आँधीखोला गाउँपालिकाको पाँचौं अधिवेशन सम्पन्न, ढकाल अध्यक्षमा निर्वाचित

राप्रपा आँधीखोला गाउँपालिकाको पाँचौं अधिवेशन सम्पन्न, ढकाल अध्यक्षमा निर्वाचित

  • PNN Times
  • बिहिवार, फाल्गुण २९ २०८१


  • राप्रपा आँधीखोला गाउँपालिकाको पाँचौं अधिवेशन सम्पन्न, ढकाल अध्यक्षमा निर्वाचित

    स्याङ्जा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्याङ्जाको आँधीखोला गाउँपालिकाको पाँचौं अधिवेशन सम्पन्न भएको छ। बिहीबार गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङज्यूले अधिवेशनको उद्घाटन गर्नुभएको हो।

    अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङज्यूले व्यवस्थाका धेरै परिवर्तन भए पनि जनताको दैनिकीमा आशाजनक सुधार आउन नसकेको बताउनुभयो। “देशमा च्याउ उम्रिएझैं नयाँ पार्टीहरू आए, तर ती चुनावको समयमा मात्र जनतालाई परिवर्तनका सपना बाँड्छन्,” उहाँले भन्नुभयो।

    images

    गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेशसभा सदस्य गुरुङज्यूले हालका नेताहरू देश र जनताको भन्दा पनि आफ्नै जीवनशैली परिवर्तन गर्नतर्फ केन्द्रित रहेको टिप्पणी गर्नुभयो। “हामीले राजसंस्था हटायौं भने विकास हुन्छ, जनताको अवस्था फेरिन्छ भन्ने आशा गरेका थियौं, तर खै परिवर्तन?” उहाँले प्रश्न गर्नुभयो।

    धर्म निरपेक्षताको नाममा विदेशी डलर भित्र्याइएकाले नेताहरू धनाढ्य बनेको आरोप लगाउँदै गुरुङज्यूले राजसंस्थालाई पुनःस्थापित गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पार्नुभयो। “हामीले राजतन्त्र होइन, राजसंस्था ल्याउने हो,” उहाँले भन्नुभयो, “राजाका बेला तानाशाही थियो भनेर भ्रम फैलाइएको छ, तर अहिलेका नेताहरू त झन् राजा भन्दा माथि भए।”

    राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहज्यूको भव्य स्वागतले नेपाली जनता अझै पनि राजसंस्थाप्रति आस्थावान रहेको देखाएको बताउनुभयो। “स्याङ्जामा मात्र होइन, काठमाडौँमा देखिएको जनसहभागिता नै यसको प्रमाण हो,” उहाँले भन्नुभयो। गणतन्त्रले गाउँ-गाउँमा विकास पुर्‍याउन नसकेको उहाँको दाबी छ।

    नयाँ नेतृत्व चयन

    आँधीखोला गाउँपालिका–५, जुग्लेमामा सम्पन्न अधिवेशनले सूर्यबहादुर ढकालज्यूको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति चयन गरेको छ। कोषाध्यक्षमा हिरा अधिकारीज्यू निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष र सचिव पदका लागि टुंगो लाग्न बाँकी रहेको छ।

    यसअघि पालिकाका ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ। वडा नम्बर १ मा भुवानीप्रसाद लामिछानेज्यू, २ मा निर्मला विकज्यू, ३ मा ओमप्रकाश शर्माज्यू, ४ मा दुर्गाप्रसाद उपाध्यायज्यू, ५ मा कृष्णबहादुर क्षेत्रीज्यू, र ६ मा ओमबहादुर गुरुङज्यू चयन हुनुभएको छ।

    बिहिवार, फाल्गुण २९ २०८१०७:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend