Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको सामुदायिक विद्यालयको एसईई नतिजामा उल्लेखनीय सुधार

पैयूँको सामुदायिक विद्यालयको एसईई नतिजामा उल्लेखनीय सुधार

  • PNN Times
  • मंगलवार, आषाढ १७ २०८२


  • पैयूँको सामुदायिक विद्यालयको एसईई नतिजामा उल्लेखनीय सुधार

    असार १७, पर्वत । पर्वत जिल्लाको पैयूँ गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरूको नतिजामा उल्लेखनीय सुधार देखिएको छ। गाउँपालिकाले पछिल्ला तीन वर्षको नतिजाको तुलनात्मक विश्लेषण गर्दै यस वर्ष विद्यार्थीहरूको सफलता दरमा सकारात्मक वृद्धि भएको दाबी गरेको हो।

    यस वर्ष गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट १७९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए, जसमध्ये ८४ जना उत्तीर्ण भएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या उल्लेखनीय रुपमा वृद्धि भएको हो। गत वर्ष ३२.५६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष यो दर १४.३६ प्रतिशतले वृद्धि भई ४६.९२ प्रतिशत पुगेको छ।

    images

    गाउँपालिकाका शिक्षा अधिकृत गोविन्दराज सुवेदीले शिक्षा क्षेत्रको सुधारका लागि चालिएका योजनाहरूको प्रतिफल सकारात्मक रूपमा देखिन थालेको बताए। “नतिजाले सुधारको बाटो देखाएको छ,” उनले भने, “प्रयास जारी राख्दा केही समस्याहरू अझै देखिएका छन्, तर चालु शैक्षिक सत्रमा अझ राम्रो नतिजा ल्याउने लक्ष्य राखिएको छ।”

    सुवेदीका अनुसार, २ जीपीए भन्दा कम ल्याउने विद्यार्थीको संख्या घटाउन विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको छ। यसका लागि शिक्षकको दक्षता अभिवृद्धि, अनुसन्धानमा आधारित कार्य योजना निर्माण तथा कार्यान्वयन, साथै नतिजा र प्रभावको निरन्तर मूल्यांकनजस्ता कार्यक्रमहरू सञ्चालनमा छन्।

    गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले शिक्षा नै समृद्धिको आधार भएको उल्लेख गर्दै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए। “हामीले नतिजामा मात्र हैन, सिकाइको गुणस्तरमा पनि सुधार ल्याउने प्रयास गरिरहेका छौं,” उनले भने।

    उपाध्यक्ष याम कुमारी रानाले शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको निरन्तर मूल्याङ्कन, अभिभावकको संलग्नता र परिणाममुखी कार्यक्रममार्फत शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउन खोजिएको बताइन्।

    गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार ल्याउन गरिरहेका प्रयासहरूले सामुदायिक विद्यालयहरूको समग्र नतिजामा सकारात्मक प्रभाव पारेको देखिएको छ।

    SEE Paiyun.jpg

    मंगलवार, आषाढ १७ २०८२०९:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend