पर्वत । पैयूँ गाउँपालिकाभित्र रहेका पैयूँ बहुमुखी क्याम्पस र हुवास बहुमुखी क्याम्पसलाई मर्ज गर्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ।
गाउँपालिकाले सरोकारवालासहितको छलफलपछि उक्त समिति गठन गरेको हो। समितिको संयोजक गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी रहेका छन्। दुई क्याम्पसबाट तीन–तीन जना र गाउँपालिकाबाट एकजना गरी ७ सदस्यीय समिति गठन गरिएको छ।
छलफलमा पछिल्लो समय विद्यार्थी संख्या घट्दै गएको र दुवै क्याम्पसको स्रोत साधनको सदुपयोग कसरी गर्ने भन्ने विषयमा विस्तृत बहस भएको थियो। उक्त छलफलकै आधारमा समिति गठन गरिएको हो।
समितिले क्याम्पस मर्जबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। सो प्रतिवेदनकै आधारमा मर्ज हुने–नहुने अन्तिम निर्णय गरिने अध्यक्ष ठकुरीले जानकारी दिए।
छलफलमा दुवै क्याम्पसका सञ्चालक समिति पदाधिकारी, अभिभावक तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।