Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देउसीभैलो कार्यक्रमहरु संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा जोडिदै

देउसीभैलो कार्यक्रमहरु संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा जोडिदै

  • PNN Times
  • बिहिवार, कार्तिक ७ २०८२


  • देउसीभैलो कार्यक्रमहरु संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा जोडिदै

    वालिङ,६ कात्तिक–नेपाली समाजमा विद्यमान चाडपर्वमध्ये तिहार दोस्रो ठूलो पर्व हो । नेपाली पात्रो अनुसार यम पञ्चक लागेपछि झिलिमिली बत्तीसहित मनाइने भएकाले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ ।
    तिहारका पाँच दिन काग तिहार, कुकुर तिहार, गाई तिहार र गोवर्धन पूजा अर्थात् गोरु तिहार र भाई टीका अर्थात् भाई तिहार पर्दछन् । यी पाँचै दिनका आ–आफ्नै विशेषता छन् । यो पर्वलाई दाजुभाई तथा दिदीबहिनीबीच भेटघाट हुने एवम् सम्बन्ध प्रगाढ बनाउने शुभ अवसरकारुपमा पनि लिइन्छ ।
    काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछि किशोरीहरुले भैलो खेल्ने परम्परादेखिकै प्रचलन छ । भोलिपल्ट गोरु–गोवर्धन पूजा गरेपछि देउसी खेल्ने र देउसी गीत गाएर रमाइलो गर्ने चलिआएको परम्परा हो । बुढापाकाहरु पुरानो भाकाले देउसी भट्याउने र युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्ने गरिन्छ ।
    हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर  भैलो गीत गाउने र नाच्ने गरिन्छ । यति रमाइलो र आफ्नोपन रहेको परम्परालाई पछिल्लो समय कतिपय स्थानमा खाने पिउने, होहल्ला गर्ने र भड्किलो बन्ने गरेको देखिन्छ । आफ्नो परम्परा र संस्कृतिलाई विकृत बनाइनु राम्रो होइन र विकृत बनाइनु हुँदैन । 1000000968 (1).jpg
    यसैबीच विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले देउसी भैलोलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने गरेको पाइन्छ । यसरी संस्कृति संरक्षणसँगै परम्परालाई निरन्तरता दिइनु सराहनीय कार्य हो । यसै सन्दर्भमा स्याङ्जाको वालिङ क्षेत्रमा संस्थागत देउसी भैलो खेलेर संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वसँग जोड्नेगरी सक्रिय भएका छन् । वालिङ नगरपालिका १ रामबाच्छाको आशिमाला तमु समाजले स्थानीय बजार र टोलमा देउसीभैलो खेलेर निकै रमाइलो प्रदान गरेको छ । समाजले रमाइलोकोसाथमा सामुदायिक भवन निर्माण सहयोगार्थ देउसीभैलो अभियान सञ्चालन गरेको हो । तिहारबाट सुरु हुने सोरठीगीतसँगै भैलो भट्याउदै गाउनु नाच्नुलाई यो समाजले साङ्केतिकरुपमा भएपनि मौलिकतालाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ । यसलाई देउसीभैलोको मर्म र भावना अनुरुपको प्रस्तुतिकारुपमा लिनुपर्दछ । यसकासाथै सालैजो र ठाडोभाका एवम् झ्याउरे भाकामा प्रत्येक्ष नाचगान गर्नु हाम्रो मौलिकता हो, जुन यो समाजले अवलम्वन गरेको देखिन्छ । यस्ता प्रस्तुति र निश्चित उद्देश्यसहितका झलकहरु पुस्ता हस्तान्तरण हुनु आवश्यक छ । जसले गर्दा हाम्रा चाडपर्व र मौलिक कला, संस्कृति र परम्पराको निरन्तरतामा टेवा पुग्दछ । नयाँ पुस्तामा पनि यो वर्षको देउसी भैलोमा संस्कृति संरक्षणमा चासो देखाएको देखियो । यसैक्रममा तल्लो वालिङका किशोर किशोरीहरु संस्कृति संरक्षणको नारासहित वर्षेनी देउसीभैलो खेल्दै आएको छ । यो समूहले सोरठी, झोरा, घाँटुसहितको देउसीभैलो खेलेर मौलिक संस्कृति संरक्षणमा प्रयास गरेको देखिन्छ ।
    यसैगरी वालिङ १३ को झलुङ्गे बजारबासीले सामाजिक सेवामा सहयोग पुगोस भनेर देउसीभैलो अभियान सञ्चालन गरेको जनाएको छ । यस्तै क्षत्री समाज वालिङले पनि सामुदायिक भवन निर्माणार्थ देउसीभैलो कार्यक्रम गरेको छ । यसरी परम्परागत देउसीभैलोलाई मनोरञ्जनको साथै सामाजिक उत्तरदायित्वमा जोड्नु सराहनीय कार्य हो । 
    यसकासाथै स्थानीय बजार र टोलहरुमा देउसीभैलो खेल्नेहरु बाक्लोरुपमा देखिन्छन्, जसले तिहार पर्वलाई साँझको समयमा झिलिमिली उज्यालोसँगै सङ्गीतमय बनाएका छन् । समग्रमा वालिङ क्षेत्रको देउसी भैलोका कार्यक्रमहरु विगतको तुलनामा सुधारोन्मुख देखिएको छ । 

    बिहिवार, कार्तिक ७ २०८२०१:५५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend