फागुन २८, वालिङ ।
स्याङ्जाको वालिङमा विविध कार्यक्रमको साथमा प्रथम ओमकार सांस्कृतिक पर्व तथा खाना महोत्सव हुने भएको छ । ओमकार इभेन्ट्स हव वालिङले आगामी चैत २६ देखि वैशाख २ गतेसम्म वालिङ ८ स्थित माले बगरमा विविध साङ्गीतिक प्रस्तुतिको साथमा प्रथम ओमकार सांस्कृतिक पर्व २०८२÷०८३ सञ्चालन गरिने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक कला, संस्कृति, सङ्गीत, खेलकुद तथा परम्परागत खानाको संरक्षण, प्रवद्र्धन र विकास गर्दै स्थानीय कलाकार तथा उद्यमीहरुलाई सशक्त बनाउनुका साथै बचत हुन आएको रकम खेलमैदान निर्माणमा प्रयोग गर्नु रहेको मूल आयोजक समितिका अध्यक्ष विजय मल्लले जानकारी गराए ।
यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धन र वालिङस्थित धार्मिक तथा ऐतिहासिक स्थलहरुको पहिचानको उजागर गर्ने कार्यक्रमको उद्देश्यमा समेटिएको छ । संयोजक मल्लका अनुसार नेपाली नयाँवर्षलाई उत्सवकारुपमा मनाउने संस्कारको विकास गर्न कार्यक्रमको भूमिका खेल्ने छ ।
हवका सचिव विक्रम खाँणका अनुसार कृषि तथा ताजा तरकारी, अदुवा, कफि, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, अटोमोवाइल, पर्यटन मेला एवम् हस्तकला प्रदर्शनी गरिने छ । यसैगरी दोहोरीगीत, भजनगीत, नृत्य तथा नौमति बाजा प्रतियोगिता लगायतका प्रतिस्पर्धात्मक कार्यक्रमहरु गरिने छन् ।
कार्यक्रम विहान १० बजेदेखि सञ्चालन गरिने छ र साधारण टिकट रु १ सय र विद्यार्थीको हकमा रु ७० लाग्नेछ । दिउसो ३ बजेपछि साँझको कन्सर्टका लागि भने रु.३ सयको टीकट काट्नुपर्ने छ ।
कार्यक्रमको खर्च ७३ लाख ५० हजार हुने अनुमान गरिएको छ ।