मंसिर ३०, काठमाण्डौ । सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेको छ ।
संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी गरी संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरुमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपभामुख सदस्य रहनेछन् । तर हाल उपसभामुख पद रिक्त छ । अब प्रधानमन्त्री र परिषदका अन्य दुई जना सदस्य उपस्थित भएमा परिषदको बैठक बस्न सक्नेछ ।
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।
बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।
#अनलाईन_खबर