काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले अब तेस्रो जनआन्दोलनको थालनी भएको बताएका हुन् ।सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’ अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे ।
सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् ।
त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधानले, हाम्रो कानुले अपराध घोषित गरेको छ मासहारी आन्दोलन गर्नेलाई जाउलाखलेका चिडियाखानामा लगेर बन्द गरिनेछ’, थापाले भने, ‘मांसाहारी आन्दोलन गर्ने फुटवादी गुटवादी तत्वलाई चेतावनी दिन चाहन्छु । तपाईंहरु दुस्साहस र अपराध गर्दे हुनुहुन्छ । त्यसमा सचेत हुनका लागि आग्रह गर्दछु ।’
नारायणहिटी अगाडि सभा गरेर आफूहरु गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पनि प्रमाणित गरेको गृहमन्त्री थापाले दाबी गरे ।