साउन ३ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन् ।
‘माननीय के.पी. शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएको छ । उहाँले गर्नुभएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘उहाँको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानुपर्नेछ ।’
प्रधानमन्त्री देउवाले अझै महत्वपूर्ण नयाँ कामहरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशील रहनेछु ।’ उनले राजनीतिक दलहरु एक अर्काका शत्रु नभई साझा उद्देश्य प्राप्तिका लागि सहयात्री भएको बताए ।
सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदलाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशील बनाउनुपर्नेमा जोड दिए ।
‘सरकार संसदप्रति उत्तरदायी रहनुपर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ,’ उनले विश्वासको मत माग्दै प्रतिनिधिसभामा भने, ‘यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ ।’ प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सबै उपायहरु अवलम्बन गर्ने जनाए ।