Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शैक्षिक बेरोजगार न्यूनिकरणका लागि वालिङमा लोकसेवा तयारी कक्षा सञ्चालन

शैक्षिक बेरोजगार न्यूनिकरणका लागि वालिङमा लोकसेवा तयारी कक्षा सञ्चालन

  • PNN Times
  • शुक्रवार, कार्तिक ५ २०७८


  • शैक्षिक बेरोजगार न्यूनिकरणका लागि वालिङमा लोकसेवा तयारी कक्षा सञ्चालन

    कार्तिक  ५,वालिङ ।
    स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निशुल्क तयारी कक्षा प्रशिक्षण शुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनिकरणमा जोड दिंदै आजबाट स्वास्थ्य सेवातर्फ अहेब/अनमीको एकमहिने निशुल्क तयारी कक्षा प्रशिक्षण शुरु गरेको हो । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने मुल नारालाई आत्मसात गर्दै नगरपालिकाले तयारी कक्षा सञ्चालन थालेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    “सरकारी सेवामा स्याङ्जा जिल्लाको छुट्टै पहिचान छ, त्यसलाई अझै पुष्टि गर्नुकासाथै पहिचानलाई जोगाईराख्नका लागि पनि हामीले निशुल्क तयारी कक्षा सञ्चालन गरेका हौं” प्रमुख खाँणले भन्नुभयो, “आगामी दिनमा वालिङका कर्मचारीलाई सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित अगाडि बढेका छौं ।” नगरपालिकाले लोकसेवा आयोगले हाल माग गरेको अहेब÷अनमी पदलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरेको हो । यसअघि गतवर्ष नगरपालिकाले निशुल्करुपमा नायब सुब्बा र खरिदारको तयारीकालागि प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो ।

    images

    222.JPG

    “पहिलो चरणमा नायब सुब्बा र खरिदारलाई लक्षित गरी निशुल्करुपमा तयारी कक्षा सञ्चालन गयौँ ” प्रमुख खाँणले भन्नुभयो, “त्यसको उपलब्धी राम्रो देखियो, तयारी कक्षा सञ्चालनको प्रभावकारिता राम्रो भएकाले यसपटक प्राविधिक धारतर्फको स्वास्थ्य सेवाको अहेब र अनमीका लागि तयारी कक्षा सञ्चालन शुरु गरेका हौं ।”
    नगरपालिकाले आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा प्रवेश गर्न चाहनेहरुका लागि पनि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख खाँणले जानकारी दिनुभयो । नगरभित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियानमार्फत शैक्षिक बेरोजगारी हटेर जाने नगर उपप्रमुख कल्पना तिवारीले दावी गर्नुभयो । नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास नगरपालिकाले लिएको उपप्रमुख तिवारीको भनाइ थियो ।
    नगरभित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जाने र आफ्नै ठाउँमा निःशुल्क अध्ययन गर्न पाउने भएकाले पनि इच्छुकहरुका लागि उपयोगी हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा बताउनुहुन्छ ।
    पायोनियर एकजुकेशन एकेडेमीका प्रिन्सीपल मेघराज गैह«ले वालिङ नगरपालिकाले यहाँका युवायुवतीहरुलाई लक्षित गरेर थालेको यो अभियान स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले शैक्षिक योग्यता हासिल गरेर बेरोजगार रहेकाहरुकालागि एउटा अवसर भएकाले मेहेनतकासाथ लाग्न पनि सहभागीहरुलाई सुझाव दिनुभयो । तयारी कक्षा सञ्चालनका लागि काठमाडौँ, पोखरा तथा वालिङमै लामो समयसम्म अनुभव प्राप्त प्रशिक्षकहरुमार्फत सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्ने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
    लोक सेवा आयोगले तयार पारेको तथा सम्भावित पाठ्यक्रमका आधारमा तयारी कक्षा सञ्चालन गरिने पायोनियर एजुकेशन एकेडेमीका प्राविधिक कक्षा प्रमुख हिमनिधी पंगेनीले जानकारी दिनुभयो । यो अभियान नगरपालिकामै पहिलो भएको उहाँको दावी छ । तयारी कक्षा सञ्चालनकालागि प्राप्त भएका आवेदनहरुका आधारमा हाल ८० जना महिला पुरुष प्रशिक्षार्थीहरु सहभागी छन् ।

    शुक्रवार, कार्तिक ५ २०७८०१:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend