पौष १०, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०७७/०७८ सार्वजनिक सुनुवाई गरेको हो । वडाले वडाबासिहरुलाई पुर्याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ ।
कार्यक्रमकाबाट जनगुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, वडामा एक चौमासिक अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्नु, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा नम्बर ४ अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका काम र योजनाहरु सहितको ३० लाख विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित वडा बासीहरुले बजार अनुगमन, फोहर व्यवस्थापन, खानेपानी, भुकम्प पछि बनेका घरहरुको समस्या, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए ।

वडा बासीहरुको प्रश्नलाई गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति पर्वतका उप–प्रमुख, लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एंव पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गाउँपालिकाले विकासका कामलाई तिव्रता दिईरहेको बताउनु भयो । स्थानिय तहको निर्वाच भएको पाँच वर्ष पुग्न लागि सकेको भन्दै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाकी रहेको बताउनु भयो । नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि एवं समन्वय समिति पर्वतका उप–प्रमुख याम कुमारी रानाले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताउनु भयो । वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा मेटेकोमा शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले पैयूँको विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्ने बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भीक नारायण भुर्तेलले गर्नु भएको थियो ।