२६ माघ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग पूरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् ।
बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।
‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’ उनले भने, ‘नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’
‘निर्वाचनमा भाग लिन आतुर छौं, निर्वाचनमा जानु अगाडि कम्तीमा किसानको मुद्धाहरुलाई सम्बोधन गर्ने पहल हुनुपर्छ । एक दिनमा नहोला, एक महिनामा पनि पूरा नहोला तर कमसेकम पहल थालिएको देखिनुपर्छ’ अध्यक्ष राउतले भने ।
अहिलेको निर्वाचन प्राणाली विकृत रहेको बताउँदै उनले निर्वाचनबाट पनि ठूलो परिवर्तन नआउने धारणा राखे । ‘अहिलेपनि भोट गर्दा आखिर कुन दल आउँछ ?’ उनले प्रश्न गरे, ‘त्यही तीन चार वटा पार्टी र तीन चार वटा नेताको अनुहार दिनदिनै हेर्नुभएको छ । उनीहरु मध्येबाट एउटा फेरिएर अर्को आउने हो ।’