फागुन ११,स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । एक समारोहकाबीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरूको जानकारी गराउनुभयो ।
अध्यक्ष पौडेलले व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप सबै वडा कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउनुभयो । आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को रु ९८ लाख लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमूख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १ सय ५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।