Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कसैको आत्मसम्मानमा चोट पुगे क्षमा चाहन्छु : प्रकाश सपुत

कसैको आत्मसम्मानमा चोट पुगे क्षमा चाहन्छु : प्रकाश सपुत

  • PNN Times
  • सोमवार, फाल्गुण ३० २०७८


  • फागुन ३०, काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।

    images

    साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग  अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ ।

    नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको  भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं । तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं ।

    समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ  । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।

    ’उनले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पारेका छन् । ‘पीर’ गीतमार्फत ‘जनयुद्ध’कै जग र बलमा व्यवस्था परिवर्तन भएको, तर अवस्था परिवर्तन मात्रै भन्न खोजेको सपुतले उल्लेख गरेका छन् । समानताका लागि लडेका एकसाथ लडेकाहरुबीच बढ्दै गएको असमान दुरीलाई भिडियोमा देखाउन खोजेको उनको भनाइ छ ।

    सोमवार, फाल्गुण ३० २०७८०५:५८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend