Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङका नागरिक जुटे पदमार्ग निर्माणमा

वालिङका नागरिक जुटे पदमार्ग निर्माणमा

  • गोपाल जिटी
  • शनिवार, चैत्र ५ २०७८


  • वालिङका नागरिक जुटे पदमार्ग निर्माणमा

    चैत्र ५, वालिङ ।  स्याङ्जा वालिङका नागरिकहरु पदमार्ग निर्माणमा जुटेका छन् । वालिङकै मनोरम पर्यटकीयस्थल बाहुनथानमा अब निकट भविष्यमा सिढी सहितको पदमार्गबाट पनि जान सकिने छ । वालिङको भुम्रे बजारबाट पदमार्गको माध्यमबाट करिव डेढ किलोमिटरको दूरीमा बाहुनथान पुग्न सकिनेछ । बाहुनथानसम्म जानका लागि ग्रामीण सडकको सुविधा भएतापनि अहिले बनिरहेको पदमार्गले थप आकर्षण दिने विश्वास छ ।

    बाह्ुनथानमा प्रायः दैनिकजसो नै आन्तरिक पर्यटकहरु जाने गर्दछन् । स्वच्छ, शान्त र मनोरम वातारणमा समग्र वालिङ बजार अवलोकन गर्न सकिने हुँदा पनि बाहुनथान अहिले पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ ।  

    वालिङ नगरपालिका वडा नम्वर ९ का नागरिकहरु बाहुनथानसम्म जानका लागि अहिले पदमार्ग निर्माणमा जुटेका हुन् । समग्र वालिङ बजारको दृष्य अवलोकन सहित पैदल जानेहरुका लागि अब बन्ने पदमार्ग थप सुविधायुक्त र आकर्षक हुने देखिन्छ ।

    प्रधानमन्त्री स्वरोजगार अन्तर्गतको तीन महिने कार्यक्रमबाट ८ लाखको सीमित बजेटमा सीढि सहितको पदमार्ग बन्न लागेको हो । सीमित बजेट भएपनि स्थानीयहरुको उत्साहजनक उपस्थिति सहितको श्रमदानमा पदमार्ग बन्ने भएको हो ।

    राउतडाँडाको दायाँबाट ६ सय र बायाँतर्फबाट ३ सयमिटरको ढलान सहितको पदमार्ग निर्माण गरिने वडा नम्वर ९ का वडा सदस्य दिपक श्रेष्ठले जानकारी गराउनुभयो । स्वास्थ्यका हिसावले पनि पैदल हिड्नु लाभदायक हुने र वालिङ बजारबासीहरुलाई विहानको हिँडाईका लागि उत्तम हुने हिसावले पनि यो पदमार्ग बनाउन लागिएको वडा सदस्य श्रेष्ठले व्यक्त गर्नुभयो । उहाँले स्वच्छ र शान्त वातावरण सहित रमणीय स्थानको अवलोकनका लागि पैदलजान चाहनेहरुका लागि पनि यो पदमार्ग थप आकर्षक बन्ने उहाँको भनाई छ ।

    पदमार्ग निर्माणका लागि यतिबेला दैनिक करिव सयको संख्यामा स्थानीयहरु उत्साहका साथ जुटिरहेका छन् भने आँफ्नो ठाउँको विकासका लागि लाखौं रुपैयाँ बराबरको श्रमदान गरेर यहाँका नागरिकहरु उदाहरणीय बनेका छन् ।

    शनिवार, चैत्र ५ २०७८०८:४६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend