स्याङ्जाको गल्याङमा दूग्ध उत्पादक किसानहरुलाई प्रति लि.१५ रुपैयाँ अनुदान दिँदै आएको स्याङ्जाको गल्याङ नगरपालिकाले अब मासुमा पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ । उत्पादनका आधारमा किसानहरुलाई अनुदानको व्यवस्था गर्न कार्यविधि बनाउन लागिएको नगर प्रमुख भूपराज अधिकारीले जानकारी गराउनुभयो ।
बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिवेसनका अवसरमा नगर प्रमुख अधिकारीले किलो विक्रीको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।
उहाँले दुधमा जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँन लागिएको उल्लेख गर्नुभयो ।
उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु राहत पुग्ने भन्दै उहाँले कागजपत्र मिलाएर लिने तथा आफ्नालाई मात्रै दिने अवस्थाको अन्त्य ह्ुने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख अधिकारीले निर्वाचित प्रतिनिधि सबैको साझा हुने भएकाले अनुदान तथा अन्य कामहरुमा भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताउनुभयो ।
उहाँले किसान सबैको भगवान भएकाले सबै पक्षले किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।