पर्वत १९ वैशाख । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर २ मा व्यावसायिक कृषिको क्षेत्रमा एउटा उदाहरणीय कार्यको थालनी भएको छ। यहाँ सञ्चालित गाउँ बेसी कृषक समूहले शनिबार नयाँ प्रविधिको प्रयोग गर्दै सामूहिक रूपमा अदुवा र अकबरे खुर्सानी लगाउने कार्य सम्पन्न गरेका छन्।
कृषकहरूले परम्परागत खेती प्रणालीलाई भन्दा आधुनिक मल्चिङ प्लास्टिक प्रविधि अपनाएर खेती सुरु गरेका हुन्। आज समूहका सदस्यहरूले क्षेत्रफल नापेर अदुवा रोपेका छन्।
यस पटकको अदुवा खेतीमा कृषकहरूले विशेष सावधानी र नवीनता अपनाएका छन्। अदुवा रोपेपछि त्यसको माथिबाट काठको धुलोले 'सापो मल्चिङ' गरिएको छ, जसले माटोको चिस्यान कायम राख्न र झारपात नियन्त्रण गर्न मद्दत पुर्याउँछ। कृषक समूहले कुन विधि बढी प्रभावकारी हुन्छ भनेर हेर्नका लागि पाँच फरक तरिकाबाट परीक्षण स्वरूप अदुवा रोपेका छन्।
यसैगरी, समूहले एक रोपनी क्षेत्रफलमा सामूहिक रूपमा अकबरे खुर्सानी लगाउनका लागि मल्चिङ प्लास्टिक ओछ्याएर जग्गा पूर्ण रूपमा तयार पारेको छ।
कार्यक्रममा गाउँ बेसी कृषक समूहका हुमलाल अधिकारीले सामूहिक कार्यले कृषिमा लागत घटाउने र उत्पादन बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "आज सबै कृषक साथीहरू जम्मा भएर रमाइलो साथ काम सम्पन्न गर्यौँ। यो सामूहिक भावना र कार्यलाई हामी सधैँ यसरी नै निरन्तरता दिनेछौँ।"
त्यस्तै, पैयूँ गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वास अधिकारीले कृषकहरूको यो उत्साहलाई प्रशंसा गर्दै आधुनिक प्रविधिको प्रयोगले नै कृषिमा समृद्धि आउने बताउनुभयो। गाउँपालिकाले यस्ता प्राविधिक प्रयासहरूलाई आगामी दिनमा पनि सहयोग र प्रोत्साहन गर्ने उहाँको भनाइ थियो।
वडा नम्बर २ र ५ का कृषकहरूको सक्रिय सहभागिता रहेको यो अभियानले स्थानीय स्तरमा कृषि आधुनिकीकरणको सन्देश प्रवाह गरेको छ। सामूहिक रूपमा गरिएको यो प्रयासले गाउँमा एकता र आर्थिक आत्मनिर्भरताको नयाँ बाटो खोलेको छ।
