— बाक्लो हुस्सु लागेको र निरन्तर पानी परिरहेकोले सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर विमान खोज्न समस्या भएको छ । पोखराबाट २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान मुस्ताङको घाँसा, लेते आसपासमा विमान अन्तिमपटक सम्पर्कमा आएको थियो ।
पोखराबाट बिहान ९ बजेर ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएकोले घाँसा वा लेते आसपास विमान खसेको हुन सक्ने अनुमान गरिएको हो ।
‘हामी धवलागिरी र टुक्चेपिकको फेदीको चरन क्षेत्रबाट तल झर्दैछौं । माथि हामीले केही आवाज सुनेनौं । तर आशंका गरिएको क्षेत्रमा जाँदैछौं,’ मूली बुक्यानका चौरी गोठाना सकेन्द्र गौचनले बताए ।
पोखरा–जोमसोम उड्ने जहाजहरु म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देब्रे पारेर उडान भर्छन् । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखि मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिब ६ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन् ।
पोखराबाट उडेको जहाज म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीबाट अगाडि पुगेपछि कालीगण्डकी नदीलाई देब्रे पारेर ‘बफर जोन’ मानिएको शिख, पाउद्वार, नारच्याङ्ग बस्तीमाथिबाट निलगिरी हिमाल छेउको ‘अन्ध गल्छी’ छिचोली लेते पुगेपछि दाहिने मोडिएर जोमसोम पुग्छ ।
‘हामी स्थानीय जम्मा गरी विमान नियमित उड्ने क्षेत्रमा खोजीका लागि परिचालन भएका छौं । अहिलेसम्म केही तथ्य फेला परेको छैन,’ थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले भने, ‘भुइँसम्म बाक्लो हुस्सु लागेको छ, स्थानीय, गोठालाहरुसँग जहाजको आवाज सुनेको आधारमा खोजी थालेका छौं । बाक्लो कुहिरो लागेकोले कतै केही देखिएको छैन ।'