Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हराएको जहाज भेटिएन, खोजी कार्य स्थगित

हराएको जहाज भेटिएन, खोजी कार्य स्थगित

  • PNN Times
  • आइतवार, जेठ १५ २०७९


  • हराएको जहाज भेटिएन,  खोजी कार्य स्थगित

     जेठ १५, काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।

    images

    अन्धकार र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको उनले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु हुनेछ ।’

    उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उद्दार टोलीका सदस्यको सुरक्षाका लागि पनि अहिले टोली फर्काउनुपरेको हो । अधिकारीहरुका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।

    त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनमा विमान सम्पर्कविहीन भएपछि पनि सम्पर्क भएको थियो । नेपाल टेलिकमको उनको नम्बर ट्रेस गर्दा मोबाइलको लोकेसन टिटी लेकतिर देखाएको थियो । त्यसैले खोजीलाई त्यतै केन्द्रित गरिएको उनको भनाइ छ ।

    तारा एयरका अनुसार पनि विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ । ‘तिनै क्षेत्रमा वरिपरि खोजी कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्दार टोली परिचालन गरिएको थियो’ तारा एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘खोजीका लागि नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टर पनि प्रयोग गरिएको थियो ।’

    नेपाली सेनाले सम्पर्कविहीन भएको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको थियो । सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘मानापाथी हिमालको पहिरोमुनि लाम्चे खोलाको मुहानमा विमान भएको सूचना स्थानीयले दिएका छन्, त्यसैले सेनाको फौज स्थल र हवाई मार्गबाट त्यसतर्फ गइरहेको छ ।’

    तर बेलुकीसम्म त्यस ठाउँमा सैनिक टोली पुग्न नसकेको सिलवालले बताए । उनले भने, ‘सम्भाव्य ठाउँमा खोजी जारी छ, यद्यपि अहिलेसम्म भेटिएको छैन ।’ सम्पर्कविहीन भएको ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

    आइतवार, जेठ १५ २०७९०८:४१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend