Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

  • PNN Times
  • सोमवार, जेठ १६ २०७९


  • जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

    १६ जेठ, काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।

    अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।

    images
    उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।

    ‘म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं,’ उनले भने, ‘बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।’

    त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको उनले बताए । ‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि कतिपय अनुहार चिन्न सकिने अवस्थामा छ,’ उनले थपे, ‘यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’

     

     

    यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज

    आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

    नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

    जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

    सोमवार, जेठ १६ २०७९०९:१३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend