जेठ २४, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाका सातै वटा वडाहरुबाट राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्र पैयूँका सात वटै वडामा एकै साथ बनाउन सुरु गरिएको हो ।
अहिलेसम्म राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मात्र बनाइने गरिएको थियो । नेपाली नागरीकता प्रमाणपत्रको कमिकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उदेश्यले नेपाली नागरीकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने अवधारणा अनुसार कोही पनि नागरिक राष्ट्रिय परिचय पत्र बनाउनबाट नछुटाउनको लागि पैयूँका सात वटै वडामा एकै पटक राष्ट्रिय परिचयपत्र बनाउन टोली आएको हो ।

राष्ट्रिय परिचय पत्र अन्तराट्रिय मापदण्डको डिजिटल कार्ड हो । चिप सहितको कार्डमा प्रिन्ट हुने यसमा बैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट हुँदैन ।
राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुने भएकाले सबै नागरिकलाई अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र बनाउन पैयूँ गाउँपालिकाले अनुरोध गरेको छ ।
राष्ट्रिय परिचय पत्र फारम भर्नको लागि नागरिकले ल्याउनु पर्ने कागजातहरु..
(क) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल (अनिवार्य)
(ख) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा वडाको सिफारिश ।
(घ) नागरिकका प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाई सराई प्रमाणपत्र ।
(ङ) नागरिकताको प्रमाणपत्रमा पति पत्नीको नाम नखुलेमा विवाह दर्ता प्रमाणपत्र ।
(च) नागरिकताको प्रमाणपत्रमा अंग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात ।
(छ) पति वा पत्नीको मृत्यु भएमा मृत्यु दर्ताको सक्कल प्रमाण पत्र
(ज) विवरण पुष्टी गर्ने अन्य कागजातहरु