असार ९,वालिङ ।स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९/०८० को बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पूँजीगत तर्फ रहेको छ । बजेटको आयस्रोतको रुपमा आन्तरिक आय,गत वर्षका अल्या,संघीय सरकारको राजश्व बाँडफाँड,समपुरक अनुदान,विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड,समानीकरण अनुदान,समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेका छन् ।

विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास,पूर्वाधार विकास,वडा स्तरीय विकास,,वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण,सुत्केरी एम्बुलेन्स,स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतमा प्राथमिकता दिइएको छ । शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम ,शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती,प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना,नश्ल सुधार तथा कृषि बीमा,स्थानीय कृषि उत्वादनको ब्रान्डिङ,प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु ,युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
आ.व.२०७९ /०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ ।