असार १४, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर पाँचलाई नमुना वडा बनाउन सर्वपक्षिय सुझाव संकलन गरिएको छ । पैयूँ गाउँपालिका वडा नम्बर पाँचले सर्वपक्षिय भेला राखी सुझाव संकलन गरेको हो ।
आगामी पाँच वर्ष भित्रमा वडालाई कस्तो वडा बनाउने भन्ने बारेमा सर्वपक्षिय भेला राखी सुझाव संकलन गरिएको वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले जानकारी दिनुभयो ।
आगामी वर्षमा वडालाई उज्यालो गाउँ, पाँच वर्षमा बालमैत्री गाउँ, एक घर एक सौचालय, विपन्न परिवारको लागि आवास निर्माण,बालउद्यान, द्रुत प्रतिकार्य टोली (आर आर टी समूह) निर्माण र डिजिटल सुशासन सहितको नमुना वडा बनाउने योजना वडाले अगाडी ल्याएको छ ।
कार्यक्रममा वडाले ल्याएको योजनाको समर्थन गर्दै वडाबासीले शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन,बादर नियन्त्रण लगायतका क्षेत्रमा समेत जोड दिन सुझाव दिएका छन ।

साथै वडाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुचमा ल्याउनको लागि र कोही पनि शिक्षाबाट बञ्चित हुन नदिन यस वर्षलाई शैक्षिक वर्ष घोषणा गर्ने लक्ष्य लिएको अध्यक्ष भुर्तेलले बताउनु भयो ।
वडाले बानीडाडामा अवस्थित छहरे झरनामा यसै वर्षको असोजसम्म क्यानोनिङ परिक्षण गर्ने समेत जनाएको छ ।
