कात्तिक २०, वालिङ ।
स्याङ्जाको अर्जुन चौपारीमा नवग्रह पूजा स्थलको निर्माण भैरहेको छ । अर्जुन चौपारी गाउँपालिका वडा नम्वर १, सिमलचौरको केटिचौरमा नवग्रह पूजा स्थलको निर्माण भैरहेको हो । यो स्थल गाउँपालिका कार्यालयको पूर्व उत्तरको इसान्ने दिसामा रहेको छ । अर्जुन चौपारी बजारदेखि २ किलोमिटरको दुरीमा रहेको “केटिचौर” गाउँपालिका कार्यालयको पछाडि सिधा माथि देखिने सुन्दर डाँडामा पर्छ । यहाँदेखि गाउँपालिकाका अधिकांश भाग अवलोकन गर्न सकिन्छ । परापूर्वकालदेखि पूजाआजा गरिदै आइएको एक आस्थाको केन्द्रकासाथै शान्त एवम् मनोरम वातावरण यहाँको विशेषता हो ।
सयौं वर्षदेखि पूजा गरिदै आइएको सिमलचौर पञ्चकन्या देविको मन्दिर रहेकाले यो ठाउँ गाउँपालिकाकै धार्मिक आस्थाको केन्द्रकारुपमा परिचत छ । यही मन्दिर नजिकै नवग्रह पूजा स्थलको निर्माण गर्न थालिएको हो । यो क्षेत्रलाई “पञ्चकन्या धार्मिक वन” भनेर पनि चिनिन्छ ।
गतवर्षको शिवरात्रीका दिनदेखि सुरु गरिएको नवग्रह पूजा स्थल, यो वर्षको शिवरात्रीमा अनावरण हुने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । एकै ठाउँमा नवग्रहको पूजा गर्न सकिने व्यवस्थित मन्दिर सम्भवतः नेपालकै पहिलो हुने अध्यक्ष तिवारीको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष तिवारीका अनुसार यो पवित्र स्थल स्थापनाका लागि नेपाल र इण्डियाका सिद्धिप्राप्त बिभिन्न साधुसन्त योगीहरुको परिकल्पना र सहयोग रहेको छ । तिनै सिद्धिप्राप्त बिभिन्न साधुसन्त योगीहरुको परिकल्पना र सहयोगमा गाउँपालिकाको नेतृत्वमा निर्माण गर्न थालिएको हो । यसको लागि गण्डकी प्रदेश सरकारको ४० लाख र पालिकाको लगानीमा निर्माण कार्य भैरहेको हो ।
यो मन्दिर तयार भएपछि गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमानलगाएतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ । यहाँ नवग्रहका नौवटै मूर्ति रहने छ । गोलाकारको बीचमा षटकोण र त्यसको पनि बीचमा ठूलो आकारको शिवलिङ् रहने छ । यहाँ ७ क्वीण्टलको एउटै शिवलिङ्गा राखिने छ । योसँगै सम्पूर्ण देविदेवताको पूजा गर्न पाइने व्यवस्था हुनेछ । प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन एवम् नवग्रहको विधिवत पूजा गर्न सकिने छ ।
यहाँ रहेको पञ्चकन्या देविको मन्दिरमा चैते दशैं र ठूलो दशैंमा पूजा हुने गर्दछ । यहाँ पाठा, परेवा, कुखुरा, पाडालगाएत पञ्चवलीको पूजा गर्ने प्रचलन छ ।
योसँगै नवग्रह पूजा स्थल बनेपछि सिमलचौर ( केटीचौर ) को पञ्चकन्या धार्मिक वन अर्जुचौपारी गाउँपालिकाकै आकर्षक गन्तव्य बन्नेछ ।